हिक्मत नेपाली, दैलेख ।
दैलेखको नारायण नगरपालिका–३ भुर्तीका २५ बर्षिया बालाराम नेपालीले आमा ४७ बर्षिया पावर्ती सार्कीको हत्या गरेका छन् । पार्वती सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार मानसिक सन्तुलन गुमाएका बालारामले कोदालो प्रहार गरि आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा बालारामका हजुरआमा ६० बर्षिया जुवारी नेपाली, बुहारी कौशीला नेपाली र मन्दिरा नेपाली घाइते भएका छन् । घाइते मध्ये जुवारी नेपालीको अवस्था गम्भिर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलको भनाई छ । घाइते जुवारीको टाउकोमा गम्घिर चोट लागेको छ । बुहारीहरु कौशीला नेपाली र मन्दिरा नेपाली सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।
आज दिउस साढे १ बजे तिर बाराराम झुण्डिएर मर्छु भनी गएको र आमा पावर्तीले रोके पश्चात आमालाई कोदालो प्रहार गरेको प्रहरी नायब उपरीक्षक पोखरेलको भनाई छ । प्रहरीका अनुसार गत बर्ष पनि बालारामले आत्महत्या गर्छु भन्दै आफ्नै घाटीमा ब्लेडले काटेका थिए ।
आमालाई कोदालो प्रहार गरि हत्या गर्ने बालाराम नेपालीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोेलीले नियन्त्रणमा लिइसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।











प्रतिक्रिया