कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

0
Shares

विराटनगर ।
अनियमितता गरेको आरोप लगाउँदैै विद्यार्थी संगठनहरुले विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनाको कार्यकक्षमा तालबन्दी गर्ने क्रममा विद्यार्थीहरुले तोडफोड समेत गरेका छन ।

नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अनेरास्वीयु र नयां शक्ति निकट विद्यार्थी संगठनको महेन्द्रमोरङ क्याम्पस इकाइ कमिटि आबद्ध विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेर तालाबन्दी गरेका हुन । आज दिउसो साढे ३ बजे क्याम्पस प्रमुख विरुद्ध नाराबाजीगर्दै गएका उनिहरुले तोडफोड गर्नुकासाथै तालाबन्दी गरेका हुन ।

विद्यार्थीहरुले क्याम्पस प्रमुखको कोठा अघिल्लतिर रहेको सभाकक्षको कुर्सी टेबुल र नेमप्लेट तोडफोड गर्नुकासाथै कोठाका पर्दाहरु च्यातेर फालिदिएका छन । केहि महिनायता क्याम्पसकालागि १ करोड बढीको कार्यालय तथा शैक्षिक सामाग्रि खरीद गरिएको र त्यसमा ब्यापक अनिमियता गरिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन । १ करोड बढीको सामाग्रि खरीद गरिएपनि कमिशनको लोभमा चारचार लाखको कोटेशनबाट ती सामाग्रि खरीद गरएको उनिहरुको आरोप छ ।

क्याम्पसमा जर्जर अवस्थामा रहेको लाइब्रेरी मर्मत सम्भारकालागि निकालिएको २१ लाखको टेण्डरमा समेत अनियमितता भएको र क्याम्पस परिसरभित्र रहेका रुखहरु जथाभावी कटान गरेर विक्रि गरिएको विद्यार्थी नेता जसवन्त पौडेलको भनाई छ । तालाबन्दी गरि आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले क्याम्पस परिसरमै निर्माणाधिन साइन्स ब्लकमा मिलेमतोको कारण तीन नम्बरको इट्टा प्रयोगगर्नुका साथै कमसल सामाग्रि प्रयोग गरिएको र शैक्षिक भ्रमणको नाममा अनियमितता गरिएको आरोप लगाएका छन ।

उनिहरुले नैतिकताका आधारमा क्याम्पस प्रमुख तिम्सिनाले राजिनामा दिन समेत माग गरेका छन । यसैबीच तालाबन्दीका बिषयमा आजै अपरान्ह क्याम्पस प्रशासनसंग वार्ता हुने र सहमति भएमात्र तालाबन्दी खोलिने विद्यार्थी संगठनहरुले जनाएका छन ।