हेटौंडा ।
बाढीपहिरोपीडितले गाँस भन्दा पनि तत्काल बास माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुस्किल भएकोले तत्काल बासको व्यबस्थापन गरिदिन ध्यानकर्षण गराएका हुन् । उनीहरुले भनेका छन्–बास नभएर बसिनसक्नु छ । सहयोग गर्ने हो भने बासको प्रवन्ध गरिदेऊ ।
बाढीपहिरोले घरबारविहीन भएकाहरुले भने–हामीलाई राज्यले तत्काल बासको व्यबस्था गरिदियोस् । भोक मेटाउन बारिका मकै कोपरे पनि हुन्छ । तर, शीर ओत्ने तत्काल एउटा स्थायी छानो भए हुन्थ्यो ।
मकवानपुरको मनहरी गाउँपालिका–४, हाँडीखोला ट्वांग्रा मुसेधापको दमारमा आश्रय लिएर बसेका बाढीपीडितहरु चिसोको समस्या झेल्न वाध्य छन् । गत वर्ष साउन २७ र २८ गतेको वर्षापछि आएको बाढीका कारण बस्ती जोखिममा परेपछि हाँडीखोलाको चुवारपाखा, अजिंगरे र चिसापानीका बाढीपीडित बनकरिया टोलनजिक दमारमा टेन्ट हालेर बस्न वाध्य भएका थिए । विभिन्न कारण त्यहाँका ७ जनाको मृत्यु भइसकेको स्थानीयले बताएका छन् ।
घर भत्किँदा उनीहरु लालाबालासहित ओत लागेर बसिरहेका छन् । घर बस्नै नहुने गरी चर्किएका र भासिएका छन् । उनीहरु भन्छन्–वर्षात्को समयमा खाना त जसोतसो हुन्छ, बरु बास भए हुन्थ्यो । उनीहरु भन्दै थिए–भएको सम्पति बाढीपहिरोले खाइदियो । अब हामी कहाँ जाने, के गर्ने ? राज्यको निकायले अझैसम्म सोचेकै छैन ।

बस्ती चिरा पर्नुका साथै धेरैको घर लडेपछि उनीहरु बाध्य भएर नजिकको दमारमा गएर बसेका थिए । त्रिपाल र झुपडीमा बसिरहेका बाढीपीडितहरु चिसोका कारण विभिन्न समस्या झेल्न बाध्य छन् ।
‘मुख्यमन्त्री डोरमणि पौडेलदेखि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसम्मका नेताहरुले बस्ती स्थानान्तरण गर्नुपर्ने र त्यसको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो । डेढ वर्ष भइसक्यो हामी यहाँ बसेको,’ प्रेमबहादुर चेपाङले भन्नुभयो–आरक्षले पेलेकोपेल्यै छ । खेती गर्न पाइएको छैन । जाडो बढेको छ, चिसोले बालबच्चा सुन्निन थालेका छन् ।
जाडोका कारण धेरै बालबालिका तथा बृद्ध आगो तापेर बस्ने गरेको उहाँले सुनाउनुभयो । बाढीपहिरोले चार बस्तीका करिब तीनसय ५० घरधुरी बिस्थापित भएका थिए । जसमध्ये दुईसय २० घरधुरी दमारमा आश्रय लिएर बसेका थिए । हाल एकसय १५ धुरी दमारमै रहँदा बाँकी भने भत्किएको घर र चिरा परेको जमिनमै फर्किसकेका छन् ।
‘अहिले बसिरहेको दमारमै घर बनाउँ भने भत्काइदिएला भन्ने डर, नबनाउँ भने यो जाडोमा निकै सकस पर्ने गरेको छ,’ मनहरी गाउँपालिका–४ का निर्वाचित सदस्यसमेत रहनुभएका चेपाङ अगुवा विष्णु प्रजाले भन्नुभयो–बस्ती स्थानान्तरणका लागि पहल भए राम्रो हुने थियो ।
बाढीपीडितले उचित बास नपाइएको भन्दै सरकारले स्थायी बासस्थान खोजी गरेर आफूहरुलाई स्थानान्तरण गर्नुपर्ने माग राखे । हकभोग गर्दै आएको जग्गा विभिन्न समयमा वर्षात्ले अत्यन्त जोखिममा रहेको भन्दै पीडितका नेता कमलचन्द्र सुमनले चेपाङ, बनकरिया र तामाङको बाहुल्यता रहेको क्षेत्रमा बाढीपहिरोले उठीबास बनाएपछि आश्रयका लागि बन र आरक्ष क्षेत्रभित्र पर्ने मुसेधापमा बाढीपीडित त्रिपालमा बसेको डेढ वर्ष बित्दा पनि कोही कसैले बासस्थानको पहल नगरिदिएको गुनासो सुनाउनुभयो ।
६५ वर्षीय अक्कलबहादुर मोक्तानले भन्नुभयो–६ जनाको परिवार छौं । त्रिपालमा रात बिताउन बाध्य छौं, गर्मीमा त सुखदुःखले गुजारा ग¥यौं, अब यो जाडोमा कसरी रात बिताउने । उहाँको जस्तै पीडा बोकेर जिल्ला प्रशासन कार्यालय मकवानपुरको शरणमा आएका पीडितले जाडो कसरी बिताउने भनेर गुनासो गरे ।
बाढीपीडित भएर बसेकाहरु अधिकांश तामाङ र चेपाङ समुदायका छन् । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत् दमारमा बसिरहेका कारण निकुञ्जले दमार छाडेर जान चेतावनी दिँदै आएको स्थानीयको भनाइ छ ।
राज्यका नियामक निकाय बाढीपहिरोमा परी मृत्यु भएका परिवारप्रति मात्र केन्द्रित भएको तर जिउँदालाई बचाउन खासै योजनावद्ध काम नगरेकोप्रति उनीहरु रुष्ट देखिए ।











प्रतिक्रिया