उत्तम नेपाल, भद्रपुर ।
विमानस्थल स्तरोन्नतिका लागि अनुमानित १२ विगाहा जमिन रोक्का गरेको एक वर्ष पुग्न लाग्दा समेत मु–आब्जा मूल्याङ्कन अन्यौलमा देखिएको छ ।
झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि ६२ जनाबाट अधिग्रहण गरिएको जग्गालाई सरकारी निकाय तथा एयरपोर्टको ढिलासुस्तीले जग्गाधनी मारमा पारेको उनिहरुको आरोप छ । सरकारले मु–आब्जा नदिने हो भने तत्काल फुकुवा गरी जग्गाधनीलाइ सहज वनाउन उनिहरुले अनुरोध गरेका छन् ।
झापाको साविक चन्द्रगढी गाविस – ७ (हाल भद्रपुर नगरपालिका ८ र ९ ) भएपनि अधिग्रहण गरिएको जग्गा भने स्रेस्ता भद्रपुर – १० मा छ । जग्गालाई विमानस्थलको स्तरोन्नतिका लागि ०७३ मङ्सीर ८ गते मन्त्रीस्तरको निर्णयले स्थायी रुपमा जग्गा प्राप्ती गर्नको लागि सो क्षेत्रलाई निर्णय गरेको थियो ।
धावनमार्गको पूर्वमा विमानस्थलको उत्तर र दक्षिणमा भएको तारवार तथा पूर्वमा भद्रपुर– धुलाबारी सडकबीचको जग्गा ,जग्गामा निर्माण भएका घरटहरा तथा अन्य संरचनाहरु समेत स्थायी रुपले प्राप्त गर्नुपर्ने भएकोले जग्गा प्राप्ती ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम सो क्षेत्रभित्र पर्ने सम्बन्धित जग्गाधनीले म–ुआब्जा दावी गर्न ०७४ माघ १२ गते ३५ दिने जग्गा प्राप्ती सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको थियो । प्रकाशित सूचनामा सबुत प्रमाणसहित रितपूर्वको निवेदन चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा पेश गर्न जानकारी गराइएको थियो ।
अतिक्रमण गरिने जग्गामा ६० जना जग्गाधनीको नामसहित र दुइकित्तामा श्रेस्ता फेला नपरेको उल्लेख छ । प्रकाशित सूचनामा जम्मा क्षेत्रफल मध्ये एयरपोर्टले लिने ११ विगाहा ८ कठ्ठा साढे १६ धुर उल्लेख गरिएको छ । सो क्षेत्रमा कृष्ण देवी कानू,मदन राई, कुमारी स्वर्णीका ,कल्पना राई र गङ्गा देवी न्यौपानेको घर रहेका छन् भने अन्य जग्गा खाली रहेको छ । सूचना जारी गरेसँगै जग्गाधनीले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि हालसम्म एयरपोर्टले मुल्याङ्कनबारे आधिकारिक जानकारी नगराएको सोनु कानूले बताए । घरसँगै जग्गा रोक्का गरेको एकवर्ष पुग्न लाग्दा समेत कुनै जानकारी ननआएकोमा कानूले सम्बन्धित निकायप्रति आपत्ती जनाएका छन् ।
जग्गा रोक्का गरेर मु–आब्जा निर्धारण नगरिनु स्तरोन्नतिका नाममा जग्गाधनीलाई उठिबास लगाएको उनको आरोप छ । वनाउदै गरेको घर समेत रोकेर हालसम्म अन्यौल वनाएको कुमारी स्वर्णीकाले बताइन् । ‘तपाईहरुको मु–आब्जा चार महिनाभित्र उपलब्ध गराउँछौं ’भनेपनि एक वर्ष वित्न लाग्दा समेत मु–आब्जा वितरण त के मूल्याङ्कन समेत नसुनाएको उनले वताइन् । रोक्कामा परेका जग्गाधनीले बारम्बार प्रमुख जिल्ला अधिकारीलाइ मौखिक जानकारी गराएपनि हुन्छ मात्र भनेको काम नगरेको उनिहरुको आरोप छ । चलनचल्ती तथा चित्तबुझ्दो मूल्याङ्कन नआएमा जग्गा नछाड्ने उनले बताइन् । चारकिल्ला कायम गरेबापत सम्बन्धित वडा कार्यालयले राजस्व समेत जग्गाधनीबाट असुलेको अर्का जग्गाधनी शम्भू थापाले बताए ।
मु–आब्जा आउँछ भनेर म्याद दिएको पटक–पटक भाका नाघिसके पनि कुनै काम नभएको उनको भनाइ छ । जग्गाको विषयमा ठोस निर्णय भइनसकेको वडा नम्बर ८ का अध्यक्ष गौरब सुब्वाले बताए । अनुमानित दुइ विघा जग्गा वडा नम्बर ८ मा परेपनि सवै जग्गाधनी घर वा अफिसमा धाइरहनु भएकोले सारै समस्या आएको उनले सुनाए । रोक्का गरेको एक वर्ष पुग्न लाग्दा समेत मूल्याङ्कन नसुनाएको भन्दै विकासको नाममा जनताको उठिवास भएको उनिहरुले गुनासो गरेको उनले बताए । दशै भन्दा यता मूल्याङ्कन समितिको वैठक नवसेकोले केहीदिनमा जग्गाधनीलाइ समेत लिएर प्रमुख जिल्ला अधिकारीकोमा जाने उनले बताए । मूल्याङ्कन तोक्दा उनिहरु विस्थापित हुने गरी नभइ नजिकै स्तान्तरण हुने खालको मूल्य तोकिनु पर्ने उनको भनाइ छ ।
जग्गा रोक्काको विषयमा अन्यौल रहेको वडा नम्बर ९का अध्यक्ष शनिलाल राजवंशीले बताए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वैठक वस्नु पर्ने भएपनि के कारण हो दशैयता बैठक वस्ननसकेको उनले बताए । एकहप्ताभित्र जग्गाको मूलयाङ्कन सार्वजानिक गरिने नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख पूर्ण चुडालले बताए । जग्गाधनीलाइ मङसिर मसान्तसम्म मु– आब्जा वितरण गरिने उनले बताए । चुडालले भदौमसान्त सम्ममा मु–आब्जा वितरण गरिसक्ने बताएका थिए । तर, हाल आएर उनले फेरी समय बढाएर मङसिर मसान्त पुर्याएका छन् ।
जग्गाको मुल्याङ्कन गरेर दुइमहिना अघि मूलाङ्कन निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाइ प्रतिवेदन बुझाइसकिएको मूलाङ्कन निर्धारण समितिका उपसंयोजक तथा भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए । दिएको जिम्मेवारी पुरा गरिसकिएकोले वाँकी कुरा थाहा नभएको उनले जानकारी दिए । जग्गा प्राप्तीको प्रक्रिया लामो हुने भएकोले केही ढिलाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।
म–ुआब्जाको मूल्याङ्कन निश्चित भइनसकेको उनको भनाइ छ । घरहरुको विषयमा भवन डिभिजनलाइ जिम्मा दिएकोले त्यो पुरा भएपछि जग्गाधनीलाइ सुनाइने उनले बताए । उनिहरुले मागेजती रकम दिननसकिएकोले समेत मूलाङ्कन निर्धारणमा विवाद भएको उनको भनाइ छ । सिडीयो सर आएपछि वैठक वसेर अब छिटै टुङ्गो लगाइने उनले आश्वासन दिए ।











प्रतिक्रिया