हेटौंडा ।
मकवानपुरको राक्सिराङ, कैलाश, मनहरी र बकैयाका विभिन्न स्थानमा भौगोलिक बिकटताको गलत फाइदा उठाउँदै गाँजा तथा अफिम खेती हुँदै आएको तथ्य जिल्लाले तयार गरेको लागुऔषध अपराध सम्बन्धि पाश्र्वचित्रमा उल्लेख छ ।
यस सम्बन्धमा त्यस्ता स्थानमा रहेका अवैध लागुऔषध खेती नियंत्रण तथा फँडानी र नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न चरणमा ठूलो संख्यामा योजनावद्धरुपले प्रहरी परिचालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रहरीले कुल २ सय २१ बिगाहा ४ कठ्ठाको गाँजा तथा १ सय ७ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गर्ने लक्ष्य राखी तीन चरणको कार्ययोजना तयार गरेको छ ।
उक्त कार्यका लागि पहिलो चरणअन्तर्गत् खटिएको टोलीले असोज १८ गतेदेखि कार्तिक २४ गतेसम्म विभिन्न प्रभावित क्षेत्रमा १ सय ९ जना प्रहरी खटिएर २८ बिगाहा १० कठ्ठाको गाँजा र ८ बिगाहाको अफिम खेती नष्ट गरेको छ ।
दोस्रो चरणअन्तर्गत् ३ सय ६० जना प्रहरी खटिएर मंसिर १० गतेदेखि १५ गतेसम्म ९९ बिगाहा ७ कठ्टा गाँजा र १३ बिगाहा अफिम खेती नष्ट गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
कारबाहीको सिलसिलामा छुट्न गएको क्षेत्रमा पुनः प्रहरी परिचालन गरी फँडानी गर्ने कार्य तत्काल सुरु गर्न लागिएको छ भने कार्ययोजना अनुसार तेस्रो चरणसम्ममा बाँकी रहेको ९३ बिगाहा ६ कठ्ठा गाँजा र ८६ बिगाहा अफिम खेती नष्ट गर्ने योजना छ ।
अनुगमन र कार्यान्वयनका सिलसिलामा थप त्यस्ता अवैध खेती गरिएको देखिए सोसमेत नष्ट गर्ने योजना रहेको प्रहरीले जनाएको छ । ती स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीका साथै स्थानीयमा लागुऔषध उत्पादन, बेचबिखन र दुव्र्यसनीविरुद्ध पर्चा, पम्प्लेट बितरण गरी चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।











प्रतिक्रिया