दुई महिनादेखि चिकित्सक बिहीन आयुर्वेद स्वास्थ्य केन्द्र

0
Shares

हाकिम र कार्यालय सहयोगी दशैं बिदामा गएका अझै फकिएनन्

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिम जिल्लाको एक मात्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दुई महिनादेखी चिकित्सक बिहिन छ । दशैं मनाउन घर गएका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक देवेन्द्र ठाकुर अझै सम्म नफर्किएपछि बिरामीलाई सास्ती भएको छ । रुकुम पश्चिमको चौरजहारीमा रहेको सो स्वास्थ्य केन्द्रमा रुकुमका साथै छिमेकी जिल्ला जाजरकोट, सल्यानबाट आउने बिरामी समेतलाई झन समस्या भएको छ ।

एक जना कविराज र एक जना बैद्य गरी २ जनाको दरबन्दी रहेको सो स्वास्थ्य केन्द्रमा दुवै जना स्वास्थ्यकर्मी नहुँदा दुई महिना सम्म स्वास्थ्य केन्द्र बन्द रहेको थियो । तर दुई दिन अघि मात्र बैद्य श्यामकुमार यादव आए पनि कविराज अर्थात चिकित्सक अझै नआउँदा दैनिक बिरामी फर्कने गरेको स्थानीयले बताएका छन् ।

दुई महिना सम्म स्वास्थ्य केन्द्र बन्द हुँदा सम्म सरोकारवालाले चासो नदेखाएको स्थानीयको दुखेसो छ । तर दशैं बिदामा गएर अझै पनि नफर्किएका चिकित्सक देवेन्द्र ठाकुरले आफु अव दुई चार दिन भित्र जिल्ला फर्कने बताए । उनलाई टेलिफोन गरी अझ सम्म किन फर्कनुभएको छैन भनि सोध्दा नेपालसमाचार पत्र सँग भने “गल्ती भयो हजुर एक चोटीलाई माफ गरिदिनुस,मेरो समाचार नबनाईदिनुहोला ।

म दुई चार दिनमा आउँछु ।” उनले यति सम्म पनि भन्न भ्याए “बरु म हजुरलाई भेट्छु । जे भन्नु हुन्छ त्यही मान्छु एक पटकलाई माफी दिनुस ” । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उनीलाई सम्पर्क गरेर छिटो भन्दा छिटो आउन आग्रह गरेको बताए । “५ दिन भित्र आउँछु भन्नुभएको छ ।” उनले भने “यदी आउनुभएन भने नियम अनुसार कार्वाही हुन्छ ।” आयुर्वेद चिकित्सक ठाकुरकी आफ्नी श्रीमती किरन ठाकुर समेत कार्यालय सहयोगी छन । दशैं बिदामा हाकिम र कार्यालय सहयोगी (श्रीमान–श्रीमती) घर गएका अहिले सम्म पनि कार्यालयमा नआउँदा सेवाग्राही मर्कामा परेका छन् ।