धर्मेन्द्र बिसी, अछाम
अछाम जिल्लको बान्निगढी जयगढ गाँउपालिका वडा नं ३ का गणेश ताम्राकारले तामाका भाँडाकुँडा बनाएर दुई छोराछोरीलाई प्राबिधिक शिक्षा पढाईरहेका छन । गणेश ताम्राकारको घरमा ४ जनाको परिवार छ । दुई छोराछोरीलाई प्राबिधिक शिक्षा पढाउनु मात्र हैन उनले सिंगो परिवार यसै पेशाबाट कमाएको पैसाले धानिरहेका छन । यो उनका लागी नौलो पेशा होइन । उनले त आफ्ना पुर्खाले गर्ने कामलाई निरन्तरता मात्र दिएका हुन् । उनका बाबुबाजेले यो पेशा अपनाउदै आएका थिए ।
ताम्राकारका ६ भाई मध्य ३ जना भाईहरुले यहि पेशा गरेर जिविकोपार्जन गरिरहेका छन् । परम्परागत सीपको प्रयोग गरी उनले तामाका भाँडाकुँडा बनाउदै आएका छन । ताम्राकारले छोरालाई चितवनमा कृषि प्राबिधिक र छोरीलाई धनगढीमा स्टाफ नर्स पढाईरहेका छन । छोराछोरीलाई पढाउनका साथै यसै पेशाबाट उनले घर खर्च कटाएर मासिक १५ हजार बढी बचत गर्दै आएको बताए । उमेरले ५३ बर्ष पुगेका गणेश ताम्रकारले २० बर्षदेखी गाँउमै यो पेशा गर्दै आएतापनी गत साउन बाट उनले सदरमुकाम मंगलसेनमा आएर यो पेशा संचालन गरेका हुन ।
बान्निगढी जयगढ गाँउपालिकामा रहेको सरस्वती माध्यामिक बिद्यालयमा ६ कक्षा सम्म अध्यायन गरेका ताम्राकारले कामको खोजीमा कहिल्यै भौतारिनु परेन । गाँउका आफु संगैका दौतरीहरु काम गर्नका लागी भारत गएपनी आफु कहिल्यै बेरोजगार भएर कामका लागी भारत भौतारिन नपरेको उनले बताए । मंगलसेन नगरपालिका वडा नं ५ मा उनको तामाका भाँडाकुँडा बनाउने आरन छ । त्यहीँ बनाइएका तामाका सामाग्री बेचेर आएको आम्दानीले उनको परिवारलाई खान लाउन राम्ररी पुगेको छ । छोराछोरीलाई पढाउन र वर्षभरिका लागि पुग्ने अन्न, लत्ताकपडा, औषधिउपचार खर्च पनि यही पेसाबाट आएको आम्दानीले धानेको उनको भनाई छ ।
उनको आरनमा तामाका गाग्री, ताउला, माना, पाथी, दियो र दमाहा ताम्राकारले बनाउँदै आएका छन । धनगढी, महेन्द्रनगर र नेपालगंजबाट तामा खरिद गरेर आरनमा राखी भाँडा बनाउने गरेको उनले बताए । तामाका नयाँ भाँडाकुँडा बनाउनुका साथै गाँउघरमा गई पुराना भाँडाकुँडा आफ्नो आरनमा ल्याए मर्मत गरेर फर्काउने गरेको समेत उनले बताए । आफुले तामा खरिद गरी बनाएका भाँडाकुँडाको प्रति किलो सातसय रुपैया र पुराना मर्मत गरिएका भाँडाकुँडाको प्रतिकिलो पाँचसय रुपँैयामा बेच्ने गरेको ताम्राकारले बताए ।
धेरै मानिसहरु परम्परागत पेशाबाट दिन प्रतिदिन बिस्थापित भैरहेकाले यो पेशाको संरक्षण जगेर्ना गर्न राज्यले लगानी गर्नुपर्ने उनको सुझाव छ । देशमा रोजगारी छैन भन्दै दिनप्रतिदिन बिदेशिने युवाहरुले उनको यो लगनसिलता र पेशाबाट आफ्नै देशमा गरिखान सकिने बुझ्न आवश्यक देखिन्छ ।











प्रतिक्रिया