नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठीको मंगलबार एक समारोहबीच उदघाटन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजमा बढ्दै गएको लैङ्गिक हिंसा नियन्त्रणको विषयमा भएका परिवर्तनबारे यसै क्षेत्रमा कार्यरत प्रहरी अधिकृतहरुलाई अभिमुखिकरण गर्ने उद्धेश्यले आयोजित कार्यक्रम महत्वपूर्ण र समयसापेक्ष रहेको बताउनुभयो । समाजमा बढ्दै गएका लैङ्गिक हिंसाका घटनालाई नियन्त्रण गर्ने विगतको अभियानलाई निरन्तरता दिँदै देशव्यापीरुपमा लैङ्गिक हिंसा नियन्त्रणका लागि संजाल गठन गरी यसका कामकारबाहीलाई थप व्यवस्थित गर्न“लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्यसञ्चालन विधि,२०७५“ जारी गरिएको समेत उहाँले उल्लेख गर्नुभयो ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीले समाज सेवा गर्ने अवसर पाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले मन, वचन, कर्मले कार्यसम्पादनको दायरामा बढोत्तरी गरी दृढसंकल्पित भई आ(आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । महिला तथा बालबालिकाको क्षेत्रमा पीडितमैत्री सेवा प्रदान गर्नु अतिआवश्यक भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले पीडित प्रहरी कार्यालयमा आइसकेपछि बोली, वचन र व्यवहारले नै घाउमा मलम लाग्ने गरी प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानीय सरकार र सरोकारवाला निकायलाई समेटेर ल्याइएको कार्यक्रमले स्थानीय स्तरको समस्या पहिचान गरी निराकरण गर्न र सुरक्षित वातावरणमा विकास निर्माणका कार्य अगाडि बढाउन सकारात्मक प्रभाव पार्दै उत्साहप्रद वातावरण सिर्जना गरेको समेत प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले धन्यवाद व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले प्रहरीले सम्पादन गरेका कार्यको चर्चा गर्दै काठमाडौं महानगरपालिका प्रहरीसँग समन्वय र सहकार्य गरी काम गर्न तत्पर रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल प्रहरीसँग संलग्न भई कार्यरत एशियन डेभलपमेन्ट बैंक परियोजनाकी पूर्व कार्यक्रम संयोजक सुलोचना श्रेष्ठले प्रहरीसँग समन्वय गरी कार्य गर्दा स्थानीय निकायसँगको समन्वय गर्न सहजता आएको तथा सफलता मिलेको चर्चा गर्नुभयो । स्थानीय प्रतिनिधिकै सहभागितामा निर्मित संजाल गठन गरी जनचेतनामुलक कार्यक्रम गर्दा संजाल मार्फत नै पीडित प्रहरी कार्यालयसम्म आउने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो ।











प्रतिक्रिया