डेढ करोड बराबरको विपद् व्यवस्थापन सामग्री प्रदान

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
फायर फाइटर फोर नेपालले करीब रु १ करोड ५० लाख बराबरको अग्नि नियन्त्रणमा उपयोगी सामान नेपाललाई प्रदान गरेको छ । फायर फाइटर फोर नेपालका प्रमुख एवं बेल्जियम प्रशिक्षक जोहन स्कोट्सका अनसार जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर लगायत, ललितपुर, भैरहवा, बुटवल, वीरगञ्ज, बाग्लुङका बारुणयन्त्रका कर्मचारी र गोरखा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनलाई प्रदान गरेको छ ।

भक्तपुरमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा फायर फाइटर फोर नेपाल नामक संस्थाका प्रमुख तथा बेल्जियम प्रशिक्षक स्कोट्सले नेपालका लागि सहयोग गर्न पाउदा खुसी लागेको र सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने बताउनुभयो ।

सो अवसरमा बेल्जियम टोलीले ल्याएको फेस माक्स, आम्स ब्याग, बिए सिलीण्डर, हेलमेट, फायर ड्रेस, सेफ्टी सुज, होज, पाईन्ट, पन्जा, टिसर्ट, स्वईटर, कटर मेसिन, ब्रान्च पाईप, कपलिङ्ग, डिभाईडर, फ्यान, रोलीबेर्ने, कम्प्रेसर मेसिन, आरो हमर स्केल, टेप, पेन्सिल र एलट सेट गरी रु १ करोड ३० लाख बराबरको सामान प्रशिक्षणमा सहभागी जिल्लाका बारुण यन्त्रलाई हस्तान्तरण गरिएको बताउनुभयो । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई मात्र रु ३५ लाख बराबरको सामान हस्तान्तरण गरिएको उहाँको भनाई थियो ।

यस अघि अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधि सहितको प्रशिक्षक प्रशिक्षण तालीम दिईएको थियो ।जुद्ध बारुणयन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमीको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक यो तालीम भएको जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय धौभडेलले बताउनुभयो ।तालीम पाँच दिनसम्म चलेको थियो ।

बेल्जियमको फायर फाइटर फोर नेपाल नामक संस्थाका १५ विशेषज्ञ टोलीले नेपालका ७० जनालाई तीन प्रकारको तालीम दिएको कार्यालयका सूचना अधिकृत बिजय धौभडेलले जानकारी दिनुभयो । तालिम र सामग्री पाए पछि अग्नी नियन्त्रणमा महत्वपुर्ण सहयोग पुगेको धौभडेलको भनाई छ ।

तालीममा आठलाई पहिलो तहको प्रशिक्षक प्रशिक्षण तालीम दिएर नेपालका लागि प्रशिक्षक बनाईएको,अग्नि नियन्त्रण गर्न जाँदा आगोबाट जोगिएर श्वासप्रश्वास कसरी लिने भन्ने बारेमा १२ लाई प्रशिक्षक तालीम र अन्यलाई अग्नि नियन्त्रणसम्बन्धी उच्च प्रकारको तालीम दिईएको छ ।

सो अवसरमा प्रशिक्षक स्कोट्ससहितको प्रशिक्षक टोलीलाई नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायत जुद्ध बारुण यन्त्रका कर्मचारीले टिका, खादा, टोपी र मायाको चिनो दिएर सम्मान तथा बिदाई गर्नुभयो ।