प्रदेश कमिटीमा वडा अध्यक्षदेखी मन्त्रीसम्म

0
Shares

धनवीर दाहाल, रुकुम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीमा रुकुम पश्चिमबाट वडा अध्यक्षदेखी मन्त्री सम्म परेका छन् । वडा अध्यक्ष देखी प्रदेश सरकारका मन्त्री समेत गरी २८ जना परेका हुन । पार्टी एकीकरण सम्बन्धी केन्द्रिय सचिवालयले सार्वजनिक गरेको नामावली अनुसार नेकपाको प्रदेश सदस्यमा रुकुम पश्चिमबाट वडाध्यक्षदेखि राष्ट्रियसभा सदस्य सहित १७ जना जनप्रतिनिधि समेत समेटिका छन् ।

नेकपा कर्णाली प्रदेश इन्चार्जको भूमिकामा रहेका रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सांसद जनार्दन शर्माका साथै राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरी, प्रतिनिधिसभाका समानुपातिक सदस्य तीर्था गौतम, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत प्रदेश कमिटीमा परेका छन् ।

त्यस्तै कर्णाली प्रदेशसभा सदस्यहरु गोपाल शर्मा, रातो कामी र देवी ओली, जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा विएम, सदस्य धनवीर ओली, चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, उपप्रमुख राधा रोका, आठविसकोट नगरपालिकाका प्रमुख गोरख केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती, सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन समेतको नाम त्यसमा समेटिएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १० का अध्यक्ष गोपेश्वर केसी र सानीभेरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष केदार विष्ट समेत उक्त कमिटीमा परेको सार्वजनिक गरिएको नामावलीमा उल्लेख गरिएको छ । ६ वटा स्थानीय तह भएको रुकुम पश्चिमका अन्य सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरु प्रदेश कमिटीमा परेपनि मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम भने परेनन् । उनी यसअघि माओवादी केन्द्रको केन्द्रिय सल्लाहकारको जिम्मेवारीमा रहेकोले अब पनि सल्लाहकारमै रहने हिसाबले यसमा नसमेटिएको नेकपाका एक नेताले बताए ।

यसका साथै पूर्व नेकपा एमाले रुकुमका अध्यक्ष विमलकुमार पुन र उपाध्यक्ष ऋषिप्रसाद जैसी, पूर्व माओवादी केन्द्रका नेताहरु महेन्द्र केसी, बुद्धिप्रसाद शर्मा, भूपालसिंह ओली, पुष्प वादी, गणेश केसी, लक्ष्मी शर्मा, लक्ष्मी पुन, चन्द्रबहादुर विक र चन्द्रबहादुर शाही कमिटीमा समेटिएका छन् । समग्रमा रुकुम पश्चिमबाट परेका २८ जनामध्ये पूर्व माओवादी केन्द्रको तर्फबाट २३ जना र पूर्व एमालेको तर्फबाट ५ जनाको मात्र प्रतिनिधित्व भएको देखिन्छ ।

महेन्द्र केसी नेकपा रुकुम पश्चिमको जिल्ला अध्यक्ष बन्नेगरी हाललाई संयोजकको जिम्मेवारीमा समेत रहेका छन् । जिल्ला अध्यक्ष र सचिवलाई समेत प्रदेश कमिटीमा सदस्य राख्ने मापदण्ड अनुसार यसो गरिएको नेकपाका केन्द्रिय सदस्य शेरबहादुर केसीले बताए ।