चिरञ्जीवी मास्के, दोलखा ।
सदरमुकाम चरिकोटमा बिभिन्न व्यक्तिको कोठामा भएको चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना बालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुले आईतवार दिउँसो एकै दिन सदरमुकाम चरिकोटको सात ठाँउमा चोरी गरेको प्रहरीको दावि रहेको छ ।
आईतवार एकै दिन सात ठाँउमा रड प्रयोग गरी कोठाको झ्याल, ढोका, भेन्टिलेसन फोडेर कोठामा प्रवेश गरी चोरी गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरिएको र १० देखि १४ बर्ष उमेर समूहका चार जना बालकलाई शङ्कासपद अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
त्यसरी पक्राउ गरिएको बालकहरुबाट चोरी गरेको नगद र मोवाईल समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए । पक्राउ परेका बालकहरुको बारेमा थप अनुसन्धान भै रहेको प्रहरी निरीक्षक काफ्लेले बताए ।
विगतमा दैनिक जस्तो चोरीको घट्ना हुने सदरमुकाम चरिकोटमा प्रहरी नायव उपरीक्षक बासुदेव पाठक प्रहरी प्रमुख भएर आएपछि चोरीको घट्नामा कमी आएको थियो । बिभिन्न स्थानमा भएको चोरीको घट्नालाई मध्य नजर गर्दै शंकास्पद व्यक्तिहरुको निगरानि गर्ने र व्यापक रुपमा प्रहरी परिचालन गर्ने काम भै रहेको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
सदरमुकाम चरिकोटमा हुने चोरीको घट्नामा धेरै जसो बालकहरुको सहभागिता हुने गरेको र उनीहरुलाई अभिभावकको जिम्मा लगाउने भन्दा अर्को उपाए नहुने भएकोले समस्या देखिएको प्रहरीको भनाई छ । चोरीमा संलग्न अधिकांश बालकहरुको अभिभावक भेट्न समेत समस्या हुने गरेको प्रहरीको भनाई छ ।











प्रतिक्रिया