हेटौंडा ।
नेपाल तरुण दल मकवानपुरले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध हेटौंडामा विरोध जुलुस निकालेको छ । प्रमुख विपक्षी दल कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस हेटौंडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरअगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै तरुण दल मकवानपुर सभापति ईश्वर पाठकले दुई तिहाई नेतृत्वको वर्तमान सरकारले देशमा सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै विरोध गर्नुभयो ।
उहाँले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको कारण सरकारविरुद्ध देशभर जनमत सिर्जना भएको दाबी गर्नुभयो । उहाँले वाइडबडी जहाज खरिदमा घोटाला भएको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड रुपियाँको गाडी किन्ने निर्णयका कारण वर्तमान सरकार अलोकप्रिय भएको बताउनुभयो ।

उहाँले बामपन्थी सरकारका क्रियाकलाप जनसरोकारका मुद्धामा केन्द्रित हुनुको साटो राज्यसंयन्त्र दुरुपयोग गर्नेतर्फ केन्द्रित हुन थालेकाले तरुण दलले विरोध गर्नुपरेको बताउनुभयो ।
दुई तिहाईको आडमा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेर जनतालाई कंगाल बनाउन सरकार उद्यत भएको आरोप पनि उहाँको छ । तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्दै उहाँले सरकारले खोको राष्ट्रवादको नारा दिएकाले प्रदर्शन गरिएको बताउनुभयो ।
सर्वसाधारण जनताको नैसर्गिक अधिकारलाई सरकारले ब्यबस्थापन गर्न नसक्ने निष्कर्ष निकाल्दै तरुण दलले कोणसभा गरेको हो । कोणसभामा युवा नेताहरुले हालसम्म सरकारले दमनकारी नीतिमात्र अवलम्बन गरेको, सर्वसाधारणको हितमा काम गर्न नसकेको, राम्रो काम गर्नेलाई दण्ड दिने गरेको, भ्रष्टाचारी र हत्याहिंसालाई बढावा दिने गरेको तथा काम केही नगर्ने कुरामा मात्र जनतालाई अन्धभक्त बनाउने गरेकोलगायत विषयमा आवाज उठाएका थिए ।
सरकारले अदालतको समेत अवहेलना गरेको र भ्रष्टाचार उकालो लागेको भन्दै विरोधमा प्रदर्शन गरिएको हो । तरुण दलले विभिन्न मागसहित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ ।











प्रतिक्रिया