नुवाकोट ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिक सुरक्षाको खाँतिर देशका विभिन्न स्थानमा विविध चुनौतिको सामना गर्दै हरप्रहर तैनाथ रहने प्रहरी कर्मचारीहरुलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु प्रहरी संगठनको उच्च प्राथमिकता रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको आवास भवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र अस्थाई प्रहरी पोष्ट विदुरको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
घर परिवारलाई छोडेर बिकट स्थानमा कर्तव्यरत प्रहरी कर्मचारीको लागि भवनको ठूलो महत्व हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट प्रहरी कर्मचारीहरुको उत्प्रेरणा र मनोबलमा समेत सकारात्मक प्रभाव पर्ने र नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो ।
अपराध रोकथाम, अपराध नियन्त्रण र नागरिकको सुरक्षा जस्ता केन्द्रीय दायित्वमा प्रहरी संगठन पूर्ण प्रतिबद्ध रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अधिकाँस अपराधी पक्राउ गर्न प्रहरी सफल भएको उल्लेख गर्नुभयो । विविध चुनौतीका बाबजुद छिमेकी देशका प्रहरीसँग सहकार्य र इन्टरपोलको सहयोगमा समेत बाहिरी मुलुकबाट अपराधीलाई ल्याएर कानुनी कारवाही गर्न प्रहरी सफल भएको उहाँले बताउनुभयो ।

स्थानीय सरकार र नागरिकसँग दिगो साझेदारीमार्फत शान्ति सुरक्षा कायम गर्ने अभियानको सुरुवातले छोटो समयमै उच्च सफलता प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी स्थानीय सरकार, समाज र प्रहरीको जिम्मेवारी हो भन्ने भावनामा समेत अभिबृद्धि हुनेछ भन्नुभयो । प्रहरी संगठन सदैव जनमुखी, पारदर्शी र कानुनबाट निर्देशित मूल्य मान्यताका आधारमा संचालित हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई कार्वान्वयन गर्ने र प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटका प्रमुख सन्तमान तामाङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्ववबहादुर थापाले आ(आफ्नो मन्तव्य व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय कार्य भएकोमा प्रहरी प्रशंसा गर्नुको साथै आगामी दिनमा प्रहरी कार्य थप प्रभावकारी हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक ई।अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय पुनस् निर्माण प्राधिकरण कोषको सहयोगमा निर्मित जम्मा १२ कोठे जिल्ला प्रहरी कार्यालय नुवाकोटको आवास भवन कूल १ करोड ७१ लाख १७ हजार ८ सय ३२ रुपैयाँ ५५ पैसा, जम्मा १० कोठे जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको भवन कूल १ करोड २८ लाख ५१ हजार ४ सय ५४ रुपैयाँ ६० पैसा र जम्मा १० कोठे अस्थाई प्रहरी पोष्ट विदुरको नवनिर्मित भवन कूल १ करोड ३३ लाख ८ हजार ६ सय ३७ रुपैयाँ ३८ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका तथा गाउँपालिका प्रमुखहरु र उपप्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, समुदाय(प्रहरी साझेदारीका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका अधिकृतहरु, संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया