फेरि हुन थाल्यो पर्सामा गाँजा खेती

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अञ्चल प्रहरी कार्यालय वीरगन्जमा बरिष्ठ प्रहरी उपरीक्षक रहँदा बन्द भएको गाँजा खेती पर्सामा फेरि गरिन थालिएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा बन्द भएको गाजाको खेती फेरि शुरु भएको हो । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाँजा खेती अहिले भने फेरि शुरु भएको छ । पर्साको सोनवर्षा ,शंकरसरैया , पटेर्वासुगौली , सुवर्णपुर , मधुवन मथवल ,निर्मलवसती ,बिजय बस्ती, निचुटा, प्रसौनीविर्ता ,सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका साबिकका गाविसहरुमा किसानहरुले गाजा रोपेको स्थानीयवासीले बताएका छन् । चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्य जन्तु आरक्षको जंगलसंग जोडिएका गाविसहरुमा बढि जसो गाजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाजा रोपेका छन् ।

७÷८ वर्ष देखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुरका पहाडी गाविसबाट बीउ ल्याएर रोपेका हुन् ।कतिपय स्थानमा भने किसानहरुले गाजाका कारोबारीहरुको लगानीमा गाजाको खेती गरेको गाँउलेहरुले बताएका छन् । तर पर्सा का प्रहरी उपरीक्षक रेवती ले भने आफुलाइ गाजा खेती भएको बारेमा कुनै जानकारी नभएको बताए ।

गाँजा खेती हुने गरेको भनिएको स्थानहरुमा तत्काल प्रहरी परिचालन गरी गाँजा फडानी गरिने उनले बताए । पर्सा जिल्ला कुनै समयमा गाँजा खेती हुने जिल्लाकै रुपमा कुख्यात रहेको थियो । पर्सामा करिब दश बर्ष अघिसम्म ब्यवसायिक रुपमा गाँजाको खेती गरिन्थ्यो । यहाँबाट उत्पादन भएका गाँजाहरु सजिलै छिमेकी देश भारत मार्फत तेश्रो मुलुक पु¥याउने गरिन्थ्यो । यद्यपी पछिल्लो केही बर्षयता भने प्रहरीले सामाजिक संस्थाहरुको सहयोगमा यो बिरुद्ध अभियान चलाएपछि भने गाँजाको खेती पर्सामा नष्ट भएको हो ।