पाँच वर्ष भित्र बालविवाह शून्य गरिने

0
Shares

महेश न्यौपाने, रोल्पा
आगामी ५ वर्ष भित्र रोल्पा नगरपालिकाले बालविवाह शून्य गर्ने भएको छ । नगरपालिकाको एक जटिल सवालको रुपमा बालविवाह देखिएकाले उक्त समस्या न्यूनिकरण गर्ने भन्दै वहुसरोकारवालाहरुको सहभागितामा ५ वर्षे रणनीतिक योजना तय गरेको हो ।

चेतनाको अभाव, गरिवी, अभिभावकको वेवास्ता, सामाजिक संजालहरुको दुरुपयोग तथा अभिभावक विहिनता बालविवाहको कारण भएको सहभागीहरुले निश्कर्ष निकालेका छन । बालविवाह न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रम संचालन, आयआर्जन, अभिभावक शिक्षा, आमा समूह र वाल क्लवको परिचालन लगायतका कृयाकलाप गर्ने गरि रणनीतिक योजना तय गरिएको वताइएको छ ।

रणनीतिक योजनाले नगरपालिकालाई बालविवाहमुक्त वनाउन सहयोग पु¥याउने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले वताए । रणनीतिक योजना कार्यान्वयनका लागी आगामी वर्ष वजेट विनियोजन गरि कडाईका साथ कार्यान्वयन गछौं नगर प्रमुख केसीले भने । बालविवाह रोक्न सके नगर क्षेत्रको समग्र विकासमा समेत सकारात्मक प्रभाव पर्ने भन्दै सरोकारवालाहरुलाई योजना कार्यान्वयनमा हातोमालो गर्न आग्रह गरे ।

वहुसरोकारवालाको सहभागितामा योजना तयार गरिएकाले तोकिएकै समयमा उपलव्धी हासिल हुनेमा आफु आशावादी रहेको कार्यदल सदस्य खेम वुढामगले वताए । बाल विवाह न्यूनिकरण भए नगर क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने भएकाले योजनाको प्रभावकारी कार्यान्वयन जरुरी रहेको वुढाको भनाई छ ।

नगर क्षेत्रको मुख्या सामाजिक समस्याको रुपमा देखिएको बालविवाह न्यूनिकरणमा विभिन्न प्रयासहरु भए पनि सार्थकता उपलव्धी हुन सकेको छैन । नगरपालिका भित्र हुने विवाह मध्ये झण्डै ३० प्रतिशत बालविवाह रहेको वताइएको छ । यसरी हुने विवाह मध्ये केटाको भन्दा केटीको संख्या धेरै रहेको वताइएको छ ।