काठमाडौं,(नेस) । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २ व्यवस्थापन तथा योजना तालिम समाप्त भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त तालिममा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी उपरीक्षक बिदुर खड्कालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित सो तालिमको समापन समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा व्यवस्थालाई सधैं चुस्त एवं दुरुस्त बनाई राख्नका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले योजनाबद्ध ढंगले एकआपसमा आवश्यक समन्वय गर्दै अगाडी बढ्नुपर्ने बताउनुहुँदै समाजमा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा प्रभावकारी ढंगबाट परिचालित हुन निर्देशन दिनुभयो ।
उहाँले फौजी संगठनमा चेन अफ कमाण्डको महत्व माथि प्रकाश पार्नुहुँदै कार्यक्षेत्रमा नेतृत्व बहन गर्ने सशस्त्र प्रहरी अधिकृतहरुले मातहत कर्मचारीको अनुगमन गर्दै कुशल नेतृत्व प्रदान गरी एकताबद्ध रुपमा सामूहिक भावनाका साथ कार्यक्षेत्रमा आईपर्ने चुनौतीहरुको सामना गरी उत्कृष्ट कार्य सम्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले जुनसुकै संगठनमा व्यावसायीक तालिमको बिशेष महत्व रहने चर्चा गर्नुहुँदै यस्ता तालिमले व्यक्तिको बृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपाली को लक्ष्य पूरा गर्नमा सुरक्षा संगठनको समेत महत्वपूर्ण भूमिका रहने चर्चा गर्नुहुँदै त्यसका लागि राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु समेत आफ्नो जिम्मेवारी र दायित्वप्रति संवेदनशील भई कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बदलिएको सुरक्षा चुनौतीहरुलाई रणनैतिक योजना र व्यावसायीक दक्षताका साथ परास्त गरी राज्यले सुम्पिएका जिम्मेवारीहरु सहज रुपमा पूरा गर्न सक्ने सक्षम कमाण्डर उत्पादनमा यस्ता व्यावसायीक तालिमको विशेष भूमिका रहने बताउनुभयो ।
एक महिना कार्य अवधिको उक्त तालिममा १८ जना सशस्त्र प्रहरी उपरीक्षकहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया