सरकारले भूकम्प पिडितको रोदन सुनेन

0
Shares

गंगा बराल, काठमाडौं ।
‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती सबै मापदण्ड मान्न सकिँदैन ।’

सांसद् सुनुवारले स्थानीय तहलाई जिम्मेवारी दिए पुननिर्माणमा प्रभावकारिता आउने र वास्तविक पीडितले राहत पाउने बताउनुभयो । उहाँले भारत सरकारले दिने भनेको १ सय अर्ब रुपिँयाको बारेमा पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रश्न गर्नुभएको थियो ।

समितिले भूकम्पपछिको पुननिर्माणको कार्यप्रगति र आगामी कार्ययोजनाका बारेमा जानकारी लिन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाएको थियो । ज्ञवालीले सांसदको प्रश्नको जवाफ दिँदै राजनीतिक र प्राबिधिक समस्याका कारण समयमा नै सोचेजस्तो काम गर्न नसकेको स्वीकार्नुुभयो । ‘सबै कुरा भनिरहनु पर्दैन, ती पहिलेका कुरा नगरौं तर अब पुननिर्माणले गति लिन्छ’ ज्ञवालीले भन्नुभयो ‘ पहिलो कुरा प्राधिकरण गठन नै ढिलो भयो, कार्यविधि बनाउन समय लाग्यो,चाहिए जति बजेट नपाउँदा चाहेर पनि म एक्लैले केही गर्न सक्दिन ।’

ज्ञवालीले प्राधिकरणमा बसेर काम गरिरहेका कर्मचारीलाई सरुवा नगर्न र अन्त नपठाउन सरोकारवालालाई आग्रह गर्नुभयो । ‘माननीयज्यूहरुको पनि यसमा सहयोग चाहिन्छ, कसले राहत पाउने हो र कसले पाउने होइन त्यसबारे पनि चासो राखिदिनुहोला’ उहाँले भन्नुभयो ‘वडासम्म नै समिति बनाएर पुननिर्माणलाई गति दिने हाम्रो योजना हो ।’

भारत सरकारले ७५ अर्व रुपिँया सरल ऋण र २५ अर्ब अनुदान दिने सम्झौता भएको भन्दै ज्ञवालीले केही प्रक्रिया भने अलमल भएको प्रष्ट पार्नुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद अनिलकुमार झाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला सन् २०१६ को सेप्टेम्बरमा भारतसँग यसबारे सम्झौता भएको बताउनुभयो ।

‘म एक्लैले केही गर्न सक्दिन’–ज्ञवाली

ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको भवनलाई व्यवस्थित गर्ने काम भइरहेको जनाउनुभयो । त्यसअघि सांसद केदार सिग्देलले सिंहदरवार नै पुनर्निर्माण नहुँदा अरु सम्पदा तथा संरचनाहरू बने होलान् भनेर जनतालाई बिश्वास दिलाउन नसकिएको गुनासो गर्नुभएको थियो । सिग्देलले प्राधिकरणको बिगतका गतिविधि र कार्यशैली हेर्दा अबको २ वर्षभित्र सबै पुनर्निर्माण होला भन्ने बिश्वास नलागेको बताउनुभयो ।

उहाँले पीडितको गुनासो सुन्ने चासो नदिएको भन्दै प्राधिकरणको आलोचना गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद् रामबहादुर बिष्टले गफ गरेअनुसार प्राधिकरणले भूमिका खेल्न नसकेको आरोप लगाउनुभयो । ‘हिजोका दिनमा पुनर्निर्माणका लागि ६ अर्ब चाहिन्छ र ४ करोड दातृ संस्था र निकायले दिन्छन् हामीले २ अर्बमात्र व्यवहोर्नुपर्छ भनिएको थियो यो के हो ?’ विष्टले प्रश्न गर्नुभयो ‘प्रधानमन्त्रीले धरहरा बनाउँछु भनेको धेरै भयो बन्यो कि बनेन के भयो थाहा पाउँ ?’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले धरहरा निर्माण शुरु भइरहेको जानकारी दिनुभयो । नेकपाकै सांसद गणेशकुमार पहाडीले प्राधिकरणले पैसा नदिने डरले धेरै पीडितले घर बनाएको बताउनुभयो । ‘प्राधिकरण नै नबनी बनेका घरले पैसा पाउँछन् कि पाउँदैनन्’ पहाडीले भन्नुभयो ‘स्थानीय तहलाई नै तथ्यांक संकलन गरेर वास्तविक पीडितको पहिचान गर्ने हो भने संख्या घट्थ्यो र काम पनि प्रभावकारी हुने थियो ।’ उहाँले ९ सय ३८ अर्बमध्ये १ सय ८६ अर्ब खर्च भइसकेको र १ सय ५१ अर्ब खर्च हुँदै गरेको भनिएकोमा त्यो खर्च कहाँ कसरी भयो भन्ने प्रष्ट पारिदिन प्राधिकरणलाई आग्रह गर्नुभयो ।

राजपाका सांसद महिन्द्र राय यादबले कलाकार धुर्मुस सुन्तलीले व्यक्तिगत तर्फबाट त्यत्रो गाउँबस्ती बनाएको उदाहरण दिँदै सरकार र प्राधिकरणलाई चाहिँ काम गर्न केले छेकेको हो भनी प्रश्न गर्नुभयो । उहाँले प्राधिकरणको कार्यालय तथा कर्मचारी सञ्चालनमा भएको खर्चबारे जानकारी दिन माग गर्नुभयो ।

कांग्रेसका सांसद् जीपछिरिङ लामाले भत्किएका गुम्बाको पुननिर्माण हुन नसकेकोमा ध्यानाकर्षण गराउनु भएको थियो । पुनर्निर्माणमा कसैलाई बिभेद नगर्न उहाँले आग्रह गर्नुभयो ।
समितिले आज (बिहीबार) शहरी बिकास मन्त्री र शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई बोलाएको समितिका सचिव बंशीराज पौडेलले बताउनुभयो ।