गोकुल घोरसाइने, बारा
निजगढ नगरपालिकाले ठेकेदार मार्फत बकैया खोलाबाट गिटी, बालुवा र ढुङ्गा उत्खनन तिब्र पारेपछि स्थानीय विरोधमा उत्रिएका छन ।
नगरपालिका कार्यालयले मानव वस्ति, चुरे क्षेत्र र पुर्वपश्चिम राजमार्गको पुलमा समेत जोखिम बढाउने गरी उत्खनन अनुमति दिएपछि स्थानीय विरोधमा उत्रिएका हुन । उत्खनन विरुद्ध बकैया खोला किनारामा भेला भएका स्थानीयले मंगलबार नरेश घिमिरेको अध्यक्षतामा संघर्ष समिति गठन गरेर आन्दोलनको चेतावनी दिएका छन । स्थानीयहरुको अर्को समुहले सोमबार उत्खननमा प्रयोग भइरहेको एक थान एक्साभेटर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाएका थिए ।
नगरपालिकाले जथाभावी उत्खनन थालेपछि विरोधमा आन्दोलनमा उत्रिनुपरेको घिमिरेले बताए । ‘तत्काल उत्खनन बन्द नगरे स्थानीयले आफै अवरोध गर्ने छन, घिमिरेले भने, वस्तिमा बाढी पहिरोको जोखिम बढने गरी खोलामा जथाभावी उत्खनन हुन दिदैनौ ।’ स्थानीयले बर्षौै अघिदेखि रोक लगाउदै आएको स्थानबाट यसपटक नगरपालिकाले उत्खनन अनुमति दिएको उनले बताए ।
नगरपालिकाका प्रमुख सुरेश खनालले आफुहरुले वातावरणीय प्रभाव मुल्याङ्गकन प्रतिवेदनको आधारमा ठेक्का लगाएको जानकारी दिए । ‘नियम अनुसार काम भएको छ, नगरप्रमुख खनालले भने, केही व्यक्तिको स्वार्थ पुुर्तिको उत्खननको विरोध गरिएको हो ।’ उनले सोहि विषयमा छलफल गर्न बुधबार सर्वपक्षिय भेला बोलाइएको र भेलाको निर्णय अनुसार आफुहरु अघि बढने पनि जानकारी दिए ।
नगरपालिकाले चालु आर्थिक बर्षको लागि बकैया खोलाको पुर्वपश्चिम राजमार्गबाट उत्तर चुरे क्षेत्रतर्फ ३ स्थान र दक्षिणबाट १ स्थानबाट उत्खनन गर्ने गरी ठेक्का दिएको थियो । कोल्हवी नगरपालिकासंगको सिमा विवादमा स्थानीय प्रशासनले पुल दक्षिणतर्फबाट रोक लगाएपछि २ दिनअघि नगरपालिकाले उत्तरतर्फबाट उत्खनन गर्न ठेकेदारलाई अनुमति दिएको थियो ।
उत्खनन शुरु भएको क्षेत्र निजगगढ नगरपालिका ८ स्थित घयरघारी वस्ति नजिक रहेको र बकैया नागमणी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रभित्र पर्ने भएपनि समुहसंग छलफल नगरिएको भन्दै विरोध भएको हो । नगरपालिकाले कलैयास्थित जयमाता जी ट्रेर्डसलाई ७ करोड ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयमा बालुवा ढुङ्गा उत्खननको लगाएको थियो ।











प्रतिक्रिया