फेरिँदै वीरगन्ज बसपार्कको मुहार

0
Shares

 

कृष्णउदास खनाल, वीरगन्ज
धूलो र धुवाका कारण गन्जागोल रहेको वीरगन्ज बसपार्कको मुहार अब फेरिने भएको छ ।

मुलुककै प्रमुख प्रवेश द्वारको रुपमा रहेको वीरगन्जको निर्माणाधीन अवस्थामा रहेको सुविधा सम्पन्न अत्याधुनिक बस टर्मिनलको कामले गति लिएसँगै बसपार्क ब्यवस्थित हुने आश पलाएको हो ।

जर्मन विकास बैंकको ऋण सहयोगमा वीरगन्ज नगर विकास कोषमार्फत झण्डै १८ करोडको लागतमा वीरगन्जमा अत्याधुनिक बसपार्क निर्माण भइरहेको छ ।साढे ४ विगाहा क्षेत्रमा निर्माणाधीन अत्याधुनिक वर्षपार्क पटक पटकको विवाद र मुद्दा मामिलापछि १५ महिनाको कार्यअवधिसहित २०७१ फागुनमा ठेक्का सम्झौता भएको थियो ।

निर्माणको जिम्मा पाएको आशिष,पप्पु,रोशन जेभीले विभिन्न समस्या देखाउँदै निर्माणमा ढिलासुस्ती गर्दै आएका थिए । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले ताकेता गरेर अवरोध हटाएपछि अहिले बसपार्कको कामले गति लिएको हो । ठेकेदार पक्षले बसपार्कमा ८५ प्रतिशत काम सम्पन्न भएको दावी गरेको छ ।पटक पटक म्याद थपेर पनि काम सम्पन्न नभएको आलोचना खेपिरहेको निर्माण कम्पनीले बसपार्कमा तदारुकताका साथ काम अघि बढाएको छ ।

विगतमा विभिन्न अवरोध विद्यमान भएकोले कामले गति लिन नसकेको स्वीकार गर्दै कन्सल्टेन्ट कम्पनी सितारा कन्सल्ट प्रालिका कन्स्ट्रक्सन म्यानेजमेन्ट ईन्जिनियर अमित श्रीवास्तवले अब खासै समस्या नरहेकोले काम धमाधम अघि बढिरहेको बताए ।

ठेकदार कम्पनी रोशन कन्स्ट्रक्सन कम्पनीको कन्स्ट्रक्सन म्यानेजमेन्ट ईन्जिनियर शैलेन्द्र चौधरीले ८५ प्रतिशत काम सम्पन्न भइसकेको दावी गरेका छन् । अब निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेकोले एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी काम सम्पन्न गर्न निर्देशन दिइसकिएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताए ।