सांसदका योजनामा जनताको चासो, अधिकांश रकम सडकमा विनियोजन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रम मार्फत विनियोजन गर्नु पर्ने ४÷४ करोड रकम जिल्लाबाट निर्वाचित दुई सांसदहरुको उपस्थितीमा विनियोजन गरिएको छ ।

संङ्गघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका कार्यालय मार्फत सांसदहरुको बजेट मार्फत विनियोजन भएका कार्यक्रमहरुको विवरण कार्तिक मसान्त भित्रै बुझाउन परिपत्र गरेको थियो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद गंगाबहादुर दोङ्ग र क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद(हाल संचार तथा सूचना प्रविधि मन्त्री र सरकारका प्रवक्ता) गोकुल बास्कोटाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि नियमावली २०७५ अनुसार विनियोजन गरेका छन् ।

नियमावलीमा कार्यक्रम परामर्श समिति रहने ब्यवस्था गरिएको छ । विनियोजन हुने कार्यक्रमका कार्यान्वयन र ब्यवस्थापनको कार्यक्रमलाई समन्वय र सहजीकरण गर्न प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधि सभाका सदस्य संयोजक रहनेछन् । सोहि निर्वाचन क्षेत्रबाट निर्वाचित समानुपातिक सांसद, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सांसद, प्रदेश सभा समानुपातिक सांसद, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, सम्वन्धित निर्वाचन क्षेत्र भित्र पर्ने नगरपालिका र गाउँपालिकाका प्रमसख सदस्य रहनेछन् । समितिको सदस्य सचिव जिल्ला समन्वय समितिका समन्वय अधिकारी सदस्य सचिव हुनेछन् ।

परामर्श समितिले संकलन गरेका योजनाहरुलाई कार्यक्रम निर्देशक समितिमा बुझाउनु पर्नछ । कार्यक्रम निर्देशक समिति र परामर्श समितिको संयोजनमा प्रभावकारी बनाईनेछ । वर्षमा तीन पटक बस्ने उक्त बैठकमा कुनै सदस्य अनुपस्थित भएमा पनि बैठक संचालन हुनेछ भने बैठकमा सहमति जुट्न सकेन भने संयोजकको निर्णय नै अन्तिम मानिनेछ । आयोजना छनौट गर्दा विभिन्न क्षेत्र भित्र रहेर छनौट गर्नु पर्ने कार्याविधिमा उल्लेख छ ।

जिल्लाबाट निर्वाचित दुबै माननियहरुले कार्याविधि अनुसार नै छनौट गरेका छन् । क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद गंगाबहादुर दोङ्गले चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, खानिखोला गाउँपालिका, नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका र बेथान्चोक गाउँपालिकामा केन्द्रित गरी कार्यक्रम छनौट गरी रकम विनियोजन गरेका छन् ।