विप्लवजी खुल्मखुल्ला हुनुहुन्छ !

0
Shares

प्रशान्त वली, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुल्ला राख्दै पार्टीका सांगठनिक संरचना र गतिबिधि भने भूमिगत रुपमा गर्दै आएको छ । उक्त पार्टीका केन्द्रिय सदस्य चिरन पुनले पार्टी भुमीगत भएको भन्नु निराधार हल्ला भएको दावी गर्नु भएको छ ।

पार्टी पुनर्गठन दिवसको अवसर पारेर केही दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दावी गरिएको छ । यद्यपि नेकपाले विप्लवले नै सो सभामा सम्बोधन गर्ने बताउँदै आएको थियो ।

उक्त सभाको प्रमुख वक्ताको रुपमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नुभएको थियो ।

उहाँले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘महासचिव विप्लवजी खुल्मखुल्ला नै हुनुहुन्छ । सजिलै भेट्न सक्नुहुन्छ हजुरले पनि । कुन कार्यक्रममा को जाने भन्ने निर्णय पार्टीले आवश्यकता हेरेर गर्छ । भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो जस्तो लाग्छ ।’

 

नेकपा ‘खुल्ला’ संगठन र गतिबिधि ‘भूमिगत’

 

केन्द्रीय सदस्य पुनले सरकारले आफूहरुसंग वार्ताको नौटकीं गरेको आरोप लगाउनुभयो ।

उक्त पार्टीका अर्का नेता प्रकाश डुम्रेले नेपाल समाचारपत्रसंग भन्नुभयो–‘केहि सञ्चारमाध्यमले विप्लव भारतमा रहेको भन्दै समाचार सम्प्रेषण गरेका छन् । त्यो सवै भ्रम हो । विप्लवजी नेपालमै हुनुहुन्छ, नेकपा भुमिगत होइन ।’

नेकपाले आन्तरीक रुपमा जनअदालत, जनसेना, जनसरकार गठन गरेको बताइएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले गत मंसिर आठ गते वर्तमान सरकारले आफ्ना कार्यकर्तालाई दुखः दिए प्रधानमन्त्रीलाई जनअदालतमा उभ्याउने चेतावनी दिनुभएको थियो । प्रत्येक स्थानीय तहमा जनसरकार गठन गरेको र सरकारको काममा आफ्नो पार्टीले कडा निगरानीसहित गलत कामको खबरदारी गरेको जनाएको छ ।

नेकपाका गतिवीधीहरु खुलमखुल्ला नहुँदा सरकारले समेत सो पार्टीलाई कडा निगरानीमा राखेको छ । विप्लव नेतृत्वको नेकपाले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजबादको लक्ष्य राख्दै आफ्ना गतिबीधीहरु सञ्चालन गर्दै आएको दावी गरेको छ ।