हेटौंडा ।
मकवानपुरबाट गाँजा फँडानी गर्ने कार्य योजनाअनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत् मंसिर ९ गतेदेखि १५ गतेसम्म गाँजा तथा अफिम खेती नष्ट गर्ने योजना बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६० जना प्रहरी कर्मचारी खटिएर राक्सिराङ र कैलाश गापाका विभिन्न वडामा लगाइएका गाँजा तथा अफिम खेती नष्ट गर्ने योजना बनाइएको हो ।
योजनाअनुसार २ सय २१ बिगाह ४ कठ्ठा गाँजा तथा १ सय ७ बिगाह जमिनमा लगाइएको अवैध खेती नष्ट गर्ने लक्ष्य लिइएको प्रहरीले जनाएको छ । ३ टोलीमा खटिएका प्रहरी कार्य योजनाअनुसार कार्य क्षेत्रमा खटिएका छन् ।
राक्सिराङ–९ को सानोटोड्के, वडा–८ को काँकडा, वडा–७ को गर्लिङ र कैलाश–४ को सर्सिङ र लिप्चेमा लगाइएको २८ बिगाह १० कठ्ठाको गाँजा र अफिम ८ बिगाह नष्ट गरिसकेको प्रहरीले सोमबार प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोलीले राक्सिराङ–४ स्थित सानोटोड्केमा अवस्थित पानी खाने धारानजिक झाडीमा लुकाइराखिएको गोली भरिएको बेवारिस भरुवा बन्दुक फेला पारेको छ ।
अवैध गाँजा तथा अफिम खेती गर्ने स्थान अत्यन्त दुर्गममा पर्नुका साथै यातायात मार्ग र सवारीको पहुँच नभएको तथा जिल्ला सदरमुकाम र प्रहरीको सहज पहुँच भन्दा धेरै टाढा रहेको हुँदा त्यहाँ लामो समयदेखि गाँजाको अवैध खेती तथा उत्पादन हुँदै आएको छ ।
उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फँडानीका साथै स्थानीयमा लागुऔषध उत्पादन, बेचबिखन र दुव्र्यसनविरुद्ध पर्चा पम्प्लेट बितरण गरेको थियो । अभियानमा स्थानीय जनप्रतिनिधि र सामाजिक संघसंस्थाको प्रत्यक्ष सहभागिताको अपेक्षा राखिए पनि त्यस क्षेत्रबाट प्रहरीलाई नैतिक समर्थनमात्र प्राप्त भएको थियो ।
कारबाही गरिएका क्षेत्रमा स्थानीयबाट गाँजा खेतीको बिकल्पमा अन्य कृषि पेशा अपनाउन सरकारीस्तरबाट आवश्यक सहयोगका कार्यक्रमहरु ल्याउनुपर्ने माग गरेका थिए ।











प्रतिक्रिया