म्याग्दीका महिला अधिकारकर्मीले भन्छनः ‘हिंसाको स्वरुप परिवर्तन भयो, अब अभियानको स्वरुप पनि परिवर्तन गरौं’

0
Shares

प्रताप बानियाँ, म्याग्दी
म्याग्दीका महिला अधिकारकर्मीहरुले समाजमा हुने हिंसाविरुद्ध अभियानको स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नारासहित आइतबारदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा अधिकांश महिला अधिकारकर्मीको यस्तो भनाइ बाहिर आएको हो ।

बेनी नगरपालिकाको मूल आयोजना र जिल्लास्थित विभिन्न संघसंस्थाको सहआयोजनामा सुरु भएको १६ दिने अभियानको सन्दर्भमा महिला अधिकारकर्मीले हिंसाको रुप फेरिएको हुँदा हिंसाविरुद्धको अभियान पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामिछानेले हिंसाको स्वरुप फेरिँदै गएकाले अब हिंसाविरुद्धको अभियान पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

महिला अधिकारकर्मी समेत रहनुभएकी अध्यक्ष लामिछानेले भन्नुभयो– ‘पहिला–पहिला सासुबाट बुहारीहरु धेरै पीडित हुन्थे, तर अहिले बुहारीबाटै सासुहरु पीडित हुन्छन् ।’ उहाँले भन्नुभयो, ‘त्यसकारण हिंसाको स्वरुप फेरिँदै गएकाले अब त्यसको विरुद्ध सञ्चालन गरिने सबैखाले अभियानलाई पनि परिवर्तन गर्नु आवश्यक छ ।’ महिलाबाटै महिला हिंसामा पर्ने गरेको भन्दै उहाँले लैङ्गिक हिंसा भनेर अभियान चलाउँदै गर्दा पुरुषको पनि अनिवार्य सहभागिता हुनुपर्ने माग गर्नुभयो । बदलिँदो परिस्थितिमा पुरुष समेत हिंसामा परेको हुँदा महिला पुरुष कसैलाई पनि हिंसा गर्न नहुने उहाँको भनाइ छ ।

सङ्गिनी बचत तथा ऋण सहकारी संस्थाका सचिव तेजकुमारी बानियाँले आर्थिक रुपमा सक्षम हुन सकेमा समाजमा लैङ्गिक हिंसा न्युनीकरण हुने बताउँदै १६ दिने अभियानका क्रममा सचेतनामूलक अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्रका अध्यक्ष बिमला गौचनले समुदायमा लैङ्गिक हिंसा विरुद्धको प्रभावकारी कार्यक्रम सञ्चालन गर्दा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । भाषण गर्दा सिंहदरबार घरघरमा आएको भन्ने गरिए पनि त्यो अनुसार नभएको उहाँको भनाइ थियो ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसा न्युनीकरणका लागि व्यक्ति, परिवार र समाज मिलेर अगाडि बढ्नुपर्ने भन्दै परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायिक समितिमा आर्थिक लेनदेन, घरेलु हिंसा र महिलाबाट आर्थिक हिनामिना भएका उजुरीहरु आउने गरेको बताउँदै हिंसा शिक्षित परिवारमा नै हुने गरेको बताउनुभयो । धनी, शिक्षित र बुझेको व्यक्ति तथा घर परिवारको हिंसामा महिलाहरु पर्ने गरेको हुँदा सबैले हिंसा अन्त्यको पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

म्याग्दीमा पछिल्लो समय लैङ्गिक तथा महिला हिंसा बढ्दै गएको तथ्याङ्कमा देखिन्छ । लाहुरेको जिल्ला र धेरै रेमिट्यान्स भित्रिने जिल्लाका रुपमा चिनिने म्याग्दीका महिलाहरुले आर्थिक हिनामिना गरेको घटनाहरु सार्वजनिक हुन थालेका छन् । यो सँगसँगै महिलामाथि हुने यौनजन्य दुव्र्यवहार तथा बलात्कार, घरेलु एवं सामाजिक हिंसालगायत पर्दछन् ।