‘वान बेल्ट वान रोड’ शिखर सम्मेलनमा मुख्यमन्त्री पौडेल

0
Shares

हेटौंडा ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल कतारमा हुने ‘वान बेल्ट वान रोड (ओबीओआर)’ शिखर सम्मेलनमा सहभागी हुन आइतबार कतार प्रस्थान गर्नुभएको छ ।

कतारका अर्थमन्त्री अहमद बिन जसिम बिन मोहम्मद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेलसँगै प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल पनि ४ दिने भ्रमणमा जानुभएको हो ।

कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल त्यसतर्फ जानुभएको हो । उद्यमीहरु र विशेषज्ञहरुलाई सबै उद्यमहरुसँग साँस्कृतिक सञ्चार, आर्थिक र व्यापार सहयोग कसरी बढाउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारी, वक्ताहरु, विशेषज्ञ कार्यक्रममा सहभागी हुनेछन् । सम्मेलनमा कतार, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमन, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधि सहभागी हुनेछन् ।

संसारभरसँग स्थलमार्गबाट जोडिन ‘वान बेल्ट वान रोड’ को भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । स्थलमार्गसँग जोडिएपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पौडेल १३ गते स्वदेश फर्कनुहुनेछ ।

२०७४ वैशाख २९ गते नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणाको बृहत् समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभमा अघि बढाउन चाहने सबै पक्षसँग चीन सहकार्य गरी अघि बढ्न चाहन्छ । विश्व अर्थतन्त्र उकास्न र बृहत् सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तार गर्न र क्षेत्रीय सहयोग बढाउन यसले ठोस जग बसाल्ने विश्वास छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो पुरानो वैभव फर्काउने उद्धेश्यले सन् २०१३ मा ‘वान बेल्ट वान रोड’ अवधारणा अघि सारेका थिए । २०७२ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको कार्यकालमा सो सहमति भएको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभलाई चीनले आफ्नो कुटनीतिको प्रमुख आधार बनाएको छ । ओबीओआरले संयुक्त राष्ट्रसंघको चार्टरमा समेत स्थान पाइसकेको छ ।