फोहोरले पवित्र नदी दूषित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको वीरगन्जमा क्षेत्रमा रहेको पवित्र सिर्सिया नदी दूषित भएको छ ।
वीरगन्ज पथलैया करिडोरमा खोलिएका उद्योग कलकारखानाको प्रदुषणले सिर्सिया नदी दूषित बनेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित रामवनको झाडी सिर्सियाको मुहान हो।

वन क्षेत्रबाट कञ्चन पानी निस्किए पनि वीरगन्ज आइनपुग्दै कालो पानीमा परिणत हुने गरेको हो । सिमरा, जितपुर, छातापिपरा, परवानीपुर र वीरगन्जका उद्योगहरूबाट निष्कने प्रदुषित पानी तथा शहरको नाला प्रशोधन नगरी नदीमा छाड्ने गरिएको छ। औधोगिक क्षेत्रका छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायत उद्योगबाट निस्कने रसायन तथा विकारहरू प्रशोधन नगरी नदीमा खसालिएका कारण नदीमा प्रदूषण भएको हो ।

सिर्सियाको प्रदुषणबाट आम जनजीवन र कृषिमा प्रतिकुल असर परिरहे पनि सम्बन्धित निकायले यसको सफाइमा गम्भीरता नदेखाएको स्थानीयहरुले बताएका छन् । अधिवक्ता सुरेन्द्र कुर्मीले नयाँ मुलुकी ऐनमा भएको व्यवस्थाअनुसार नदीको ‘पानी प्रदुषण’ गरेको आरोपमा वीरगन्ज महानगरिपालिका र ९ वटा उद्योगको नामै तोकेर कारबाहीको माग गर्दै मुद्दा दर्तासमेत गरेका छन्।

कुर्मीले दर्ता गरेको मुद्दामा वीरगन्ज महानगरपालिका, पर्साको लिपनीविर्ता्स्थित सुशील वनस्पति प्रालि, स्टेन्डर लेदर, मरियम लेदर, नेशनल लेदर, नेपाल लेदर, ग्लोबल लेदर, निम्बस प्रालि, अरनिका प्रोसेसिङ, अंकिता टेक्सटाइल्सलगायत १० प्रतिवादी छन्। महानगरपालिकाले पनि शौचालयको पानी मिसिएको नाला नदीमा खसालेकाले कारबाहीको माग गरिएको उनको भनाइ छ।

सिर्सिया करिडोर निर्माण गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन बनाउन पहल भइसकेको वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगी बताउँछन् । सिर्सिया नदीको तल्लो भेगमा रहेका स्थानीयहरुले नदीको पानी पिउन समेत प्रयोग गर्ने,छठ लगायतका धार्मिक पर्वहरुमा पूजापाठ गर्ने गरेपछि उधोगहरुका कारण नदी प्रदूषण भएपछि स्थानीयहरुले आक्रोशित भएका हुन् ।