महिलालाई आत्मनिर्भर बनाए हिंसा रोकिनेः मन्त्री बराल

0
Shares

यमलाल भुसाल, बुटवल ।
लैंगिक हिंसा,दुव्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने नारासहित सामाजिक विकास मन्त्रालय प्रदेश न ५ को आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान बुटवलमा शुरु भएको छ ।

अभियान शुभारम्भ कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औंल्याउंदै अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरणमा सरकार सफल हुने बताउनुभयो । उहांले महिलाहरुका लागि सिप, तालिम जस्ता कार्यक्रम प्रदान गर्ने र महिलाहरुले पनि आत्मनिर्भरको बाटो अपनाउन कोशिस गरेमा हिंसा रोक्न सकिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ प्रदेश न ५का सचिव गोविन्द रेग्मीले हिंसा नयूनिकरणका लागि चेतनाको आवश्यकता रहेको भनाई राख्नुभयो ।वहांले हिंसा मुक्त समाज निर्माणका लागि विद्यालयहरुमा पाठ्यक्रममै समावेश गरेर विद्यार्थीहरुलाई त्यसका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले १६ दिनको अभियानले हिंसा रोक्न प्रभावकारी भूमिका खेल्ने भन्दै हिंसामा पर्नेले खुलेर हिंसा विरुद्ध लड्न सकेमा लैंगिक हिंसामा कमी आउने बताउनुभयो ।