रुकुममा महिला हिंसाका घटनामा बृद्धि

0
Shares

धनवीर दाहाल, रुकुम ।
महिलामाथी हुने सबै प्रकारका हिंसा अन्त्यका लागी बिश्वव्यापी १६ दिने अभियान मुलुकभर आइतबारबाट सुरु भएको छ । लैंगिक हिंसा र दुव्र्ववहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ सरकारी स्तरबाटै अभियान संचालन गरिएको छ । तर रुकुममा भने महिला हिंसाका घटनामा अझै पनि कमी आउन सकेको छ्रैन ।

बिगतको बर्ष भन्दा यस बर्ष अझै पनि महिला हिंसाका घटनमा बृद्धि भएको छ । रुकुम पश्चिममा लैंगिक हिंसाका घटनामा कमी आउन नसकेको तत्थ्यांक सार्वजनिक गरिएको हो ।

खासगरी असमान सामाजिक शक्ति सम्बन्ध, वालविवाह, मादक पदार्थ सेवन, लागु औषधको सेवन, रोजगारीको अवसर नहुनु, र जातिय छुवाछुतको कारण महिलामाथी बिभिन्न किसिमका हिंसाहरु हुने गरेका छन् । रुकुम पश्चिममा यस बर्ष महिला हिंसाका बिभिन्न १९४ घटना घटेको तत्थ्यांक आइतबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । जस मध्य जर्वरजस्ती करणी, वालविवाह, बहुविवाह, सम्बन्ध बिच्छेद, घरेलु हिंसा लगाएत रहेका छन् ।

सबै भन्दा बढी सम्बन्ध बिच्छेदका ८३ वटा घटना रहेका छन् । महिला माथी हुने गरेका अधिकांश घटना घट्नुमा मद्यिरा पनि मुख्य रहेको बताइएको छ । रुकुमका गाँउमा घरेलु मद्यिरा उत्पादनलाई नियन्त्रण गर्न सरोकारवालाले चासो नदेखाउनुले गर्दा पनि हरेक दिन मद्यिरा उत्पादनमा बृद्धि भइरहेको र सोही कारण महिला हिंसा बढीरहेको स्थानीयले बताएका छन् ।

विभिन्न सभा समारोह गरेर महिला हिंसा बिरुद्धको कार्यक्रम गर्नुभन्दा पनि ग्रामिण स्तरमा रहेको महिला हिंसा बढाउने खालका कुुरिती नियन्त्रण गर्न र गाँउ गाँउमा उत्पादित मद्यिरा नियन्त्रण गरे महिला हिंसाको ९० प्रतिशत घटनामा कमी आउने महिलाअधिकारकर्मीहरुले बताएका छन् ।

रुकुम पश्चिमको जिल्ला स्तर तथा मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाँउपालिका, बाँफिकोट गाँउपालिका, र त्रिबेणी गाँउपालिकाले आ आफ्नो गाँउपालिका स्तरमा र्याली र सभा गरेका छन् तर बिशेष गरी पिडितले भोगीरहेको पिडाका सम्बन्धमा कसैले चासो नदिएको गुनासो एकातिर छ । जिल्ला स्तरमा भएको कार्यक्रम कर्णाली प्रदेशका सांसद देवी ओलीले महिला हिंसा अन्त्यका लागी महिलाहरु पनि जागरण अभियानमा लाग्नुपर्ने बताउनुभयो । उहाँले आफु माथी भएका हिंसालाई सहेर नबस्न पिडित महिलालाई आग्रह गर्नुभयो ।