ट्यांकरबाट इन्धन चोरी, निगमले बनायो छानविन समिति

0
Shares

सरोज यादव, विराटनगर ।
लकिङ सिस्टम प्रयोग गरिएको टयांकरबाट इन्धन चोरी भएको बिषयमा अनुसन्धानगर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालयले एक टोली विराटनगर पठाएको छ । भारतबाट ल्याइएको इन्धन बिच बाटोमै चोरी भएको बिषयमा अनुसन्धानगर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालयले उपनिर्देशक अन्जना पोखरेलेको नेतृत्वमा ३ सदस्यिय टोली विराटनगर पठाएको हो ।

टोलीले प्रादेशिक डिपो विराटनगर आएर अनुसन्धान शुरु गरेको छ । मंसिर ६ गते भारतको बरौनीबाट २० हजार लिटर डिजल लिएर विराटनगर डिपो आएको को १ ख ५९६५ नम्बरको ट्यांकरमा २ हजार ४ सय ८४ लिटर कम डिजल फेला परेको थियो ।

लकिङ सिस्टम दुरुस्तै रहेपनि सो ट्यांकरले बरौनीबाट ल्याएको परिमाण भन्दा कम डिजेल भेटिएपछि इन्धन ल्याउने क्रममा चोरी भएको आशंका गरिएको छ । अनलोड गर्नेक्रममा चलान भन्दा कम इन्धन फेला परेपछि ढुवानीकर्तालाई कारवाही प्रक्रिया अघि बढाइएको निगमका प्रादेशिक निर्देशक दिनेश यादवले जानकारी दिए ।

सुखदेव सिंह ढुवानीकर्ता रहेका सो ट्यांकर भारत बथनाहाका धर्मेन्द्र स्वर्णकारले कुदाउदै आएका थिए । इन्धन चोरी भएको ट्यांकर प्रादेशिक डिपो विराटनगरमा थन्क्याएर छानबीन थालिएको छ । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले इन्धन चुहावट रोक्ने उद्धेश्यसहित २०७५ साउन १ गतेबाट ट्यांकरहरुमा लकिङ सिस्टम जडान गरेको थियो ।