आमा पनि बिरामी भएपछि हिराको बिचल्ली

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको बाँफीकोट गाँउपालिका १० ठाँटीकी १५ बर्षिया हिरा बिकलाई पढ्ने चाहना हुँदाहुँदै पनि आर्थिक स्थिती कमजोर भएका कारण बिचमै छोड्नु परेको छ । जन्मँदै अपाङ्ग रहेकी हिराको तौल एवं उचाई बढिरहेको छैन । कक्षा ४ मा पढ्दा पढ्दै उनले छाड्नु परेको हो ।

हिराको बुवाले गत बर्ष आत्महत्या गरे । आर्थिक स्थिती कमजोर भएका कारण उनले आत्महत्या गरेको उनका आफन्तले बताए । पतिको मृत्युपछि बिरामी भएकी गंगा बि.क पनि आर्थिक अभावमा उपचार गर्न नसकी रोग पालेर बसेकी छन् । उनका दुई छोरा र दुई छोरी पाल्ने कसरी भन्ने चिन्ताले झनै पिरोलेको छ । अपाङ्ग रहेकी हिरा लगाएत अरु वालवालिकाको पनि पढ्ने रहर हुँदा हुँदै पनि आर्थिक अभावका कारण पढाउन नसकेको गंगाले बताइन् ।

स्थानीय बिपना बुढाका अनुसार उनलाई यतिबेला आर्थिक अभाव छ । साँझ बिहानको छाक टार्न र यस हिउँदको समयमा एकसरो न्यानो कपडा फेर्न पनि उनको परिवारलाई धौ धौ भएकोले सरोकारवाला समक्ष सहयोगको याचना समेत गंगाले गरेकी छन् । वालबच्चाको पढाईको कुरै छाडौं कसरी छाक टार्ने र न्यानो कपडाको व्यवस्था गर्ने भन्ने चिन्ता मात्र आफुसँग रहेको गंगाको भनाई छ । आफु बिरामी अवस्थामा भएपनि छोराछोरीका लागी मजदुरी गर्नै पर्ने बाध्यता उनीसँग छ ।