अनुमति नलिई सीसी क्यामेरा जडान गरे कार्वाहि

0
Shares

विमल बिष्ट, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीले सीसी क्यामेरा जडान गर्ने कार्यालय, संघ–संस्था र व्यक्तिहरुलाई अनुमति लिएर मात्रै जडान गर्न आग्रह गरेको छ ।

कार्यालयले सीसी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ जारी भएको भन्दै सोही कार्यविधि बमोजिम अनुमति लिएर मात्रै जडान तथा सञ्चालन गर्न सूचित गरेको हो । जिल्ला प्रशासन कार्यालयले अनुमति नलिई सीसी क्यामेरा जडान गरेकाहरुलाई समेत अनिवार्य अनुमति लिन आग्रह गरिएको छ ।

सीसि क्यामेरा जडानका लागि अनुमति लिन प्रयोजन खुलेको निवेदन, नागरिकता, घर नक्सा र जग्गा धनीपूर्जाको प्रतिलिपि तथा स्थानीय तहको सिफारिस लिएर आवेदन गर्न सकिने जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो ।उहाँका अनुसार कार्यविधिले तोकेबमोजिम सीसी क्यामेराबाट खिचिएका श्रव्यदृश्य तथा अन्य विद्युतीय चित्रहरु गोप्य एवम् न्युनतम ३ महिनासम्म सुरक्षित राख्नुपर्ने, सीसी क्यामेरा जडान भएको सूचना ठाउँ–ठाउँमा राख्नुपर्ने तथा मानव अधिकार हनन् हुने गरी जडान गर्न नपाइने भएको छ ।

अनुमति नलिई सीसी क्यामरा जडान तथा सञ्चालन गर्नेहरुलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही हुनसक्ने समेत जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । डोटीमा एक÷दुई कार्यालय बाहेक अहिले सम्म कसैलेपनि अनुमति लिएर सीसि क्यामेरा जडान नगरेको पाईएको प्रशासनले जनाएको छ । यहाँका बिभिन्न होटेल,फेन्सि पशल,बैंक लगायतका ठाउहरुका सीसि क्यामेरा जडान गरिएको छ ।