हिंसा विरुद्ध बालबालिका

0
Shares

नेपाल समाचारपत्र, काभ्रे
महिला हिंसा विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले गाउँगाउँमा सचेतना अभियान शुरु गरेको छ । जिल्लाको विकट गाउँपालिका महाभारतको गोकुलेमा आयोजना गरेको कार्यक्रममा अभिभावकहरुलाई आफ्नै सन्तानले महिला हिंसाका विषयमा जानकारी गराए ।

गोकुले माध्यमिक विद्यालयमा आयोजना गरिएको महिला हिंसा न्युनिकरणमा युवाको भूमिका विषयक बक्तृत्वकला कार्यक्रममा स्थानीय तीनवटा विद्यालयबाट उत्कृष्ट भई छनोट भएका ६ जना विद्यार्थीहरुले ५÷५ मिनेट हिंसा विरुद्ध प्रतिस्पर्धात्मक तर्क पेश गरे । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले सबै विद्यार्थीहरुले दिएको तर्क उचित र समय सान्र्दभिक भएको बताए ।

निर्णायक समितिमा समेत रहेका एसपी खड्काले संविधानको धारा समेत कण्ठस्थ गरी महिला हिंसा विरुद्ध भएका अपराधमा हुने कारवाही, हिंसा रोक्न घर, परिवार, समुदाय र विद्यालय स्तरमा हुन सक्ने सम्भावित योजना र हिंसा रोकिएपछिको सम्वृद्ध समाजका बारेमा विद्यार्थीहरुले दिएको तर्क समुदायको हितमा रहेको बताए ।

विद्यार्थीहरुले महिलाहरुको अवस्था, महिलाहरुले भोग्नु परेको शारिरिक, मानसिक र आर्थिक समस्याबाट सिर्जित समस्याबाट हिंसामा पर्नु परेको तर्क पेश गरेका थिए । स्थानीय सरकारले महिलाहरुको अधिकार सँगै सम्वृद्ध हुन सिप र क्षमताको विकास गर्नु पर्ने र विद्यालय जान छाडेका छात्राहरुलाई विद्यालय पठाउन तथा विद्यालय गईरहेका बालबालिकाहरुलाई गलत र सहि विषयमा महिला, बालबालिका सम्वन्धी हुने अपराधका बारेमा शिक्षकहरु मार्फत जानकारी गराउनु पर्ने बताए । गोकुले मावि, भैरव मावि र जनकल्याण मावी घर्तिछापबाट २÷ २ जना गरी ६ जना विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागि भएका थिए ।

कार्यक्रममा गोकुले माविका शुसान्त श्रेष्ठ प्रथम भए भने सोहि विद्यालयकी अस्मिता श्रेष्ठ द्धितीय भईन् । यस्तै जनकल्याण मावि घर्तिछापका मिनु दर्लामी तेस्रो र सोहि विद्यालयकी सुनिता मगर चौथो हुन सफल भईन् । त्यस्तै भैरव मावीका प्रतिभा मोक्तान र आज्ञा जिम्बाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । गोकुलेमा भएका महिला हिंसा सम्वन्धी घटना प्रहरीकोमा नआईपुग्ने र कारवाही समेत नभएको स्थानीयले बताए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले हिंसा विरुद्धको सचेतना विद्यालय तहबाटै शुरु गरिएको बताए । विद्यार्थीहरु आफैले अभिभावकहरुलाई हिसाका बारेमा बताउने वातावरण बनेपछि घरबाट हिंसा अन्त्य हुने विश्वास राउतले गरे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले महिला हिसा जघन्य अपराध भएकाले सबैले अपराध न्युनिकरणका लागि सक्रिय हुनु पर्ने बताए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महिला हिंसा विरुद्ध गाउँपालिकाले अभियान शुरु गर्ने र हिंसा मुक्त गाउँपलिका घोषणा गर्ने योजनामा रहेको उनले बताए । मानवअधिकारकर्मी भोजराज तिमल्सिना, पत्रकार महासंघ अध्यक्ष मोतीराम तिमल्सिना लगायतले हिसा विरुद्ध सबैको साझा धारणा रहेको बताए ।