मिनिबस दुर्घटना अपडेटः एक भारतिय सहित १८ घाइतेको नाम खुल्यो

0
Shares

दार्चुला । मंसिर ०७ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ ऐरिछानामा शुक्रबार विहान पौने ५ बजेतिर मिनि बस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगाका लागी छुटेको म १ ख ४३६ नम्बरको मिनिबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा परी बसमा सवार १८ जना घाइते भएका छन् ।

घाइते मध्ये १६ जनाको नाम ठेगाना खुलेको छ, भने ४ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी लेकम गाउँपालिका–४ खरकडाकी लक्ष्मी लोहार, दौलत सिह कुवर, वर्ष ३३ का राम सिह बस्नेत, वर्ष ३३ कै जानकी बस्नेत, नरेश सिह र लक्ष्मी कुवर घाइते भएका छन् ।

यस्तै लेकम गाउँपालिका–५ का ३२ वर्षिय नरेश बोहरा, मालिकार्जुन गाउँपालिका–८ मेलखेतका १८ वर्षिय नगेन्द्र पन्त, मेलखेतकै १३ वर्षिय लक्ष्मण पन्त, लेकम गाउँपालिका–४ खरकडाका भुपेन्द्र सिह धामी, मालिकार्जुन ८ पस्तीका ३५ वर्षिय गोपाल धामी, पस्तीकै २४ वर्षिय चन्द्र पन्त घाइते भएका छन् ।

यसैगरी अपिहिमाल गाउँपालिका ६ का २५ वर्षिय मंगल महता, मालिकार्जुन गाउँपालिका ८ रमेश धामी, पस्तीकै ३० वर्षिय हिरेन्द्र सिह धामी र भारत अस्कोटका ४० वर्षिय अनिल पाल घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विहीबार राती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाई बोकेर खलंगा आइरहेको मिनिबस सडकबाट तिन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले सम्म उद्धार गरिएका १८ जना घाइतेलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको दार्चुलाका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए । बसमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन् ।

घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरिररहेका छन् । गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा हेरेर घर फर्कि रहेका मानिसलाई बोकेर सदरमुकाम खलंगा आउने क्रममा बस दुर्घटना भएको हो । घट्नाको पुर्ण विवरण अझै आउन सकेको छैन् ।