नयाँ पाठ्यक्रम नमुना परीक्षण हुँदै

0
Shares

ईश्वरराज ढकाल, काठमाडौँ ।
आगामी शैक्षिक सत्रदेखि देशभरका एक सय विद्यालयमा कक्षा १ र ११ को नयाँ पाठ्यक्रम परीक्षणको रुपमा लागु हुने भएको छ । नयाँ पाठ्यक्रमको प्रारुप स्विकृत भएसंगै यसलाई परीक्षणको रुपमा लागु गर्न लागिएको हो ।
पाठ्यक्रम केन्द्रका महानिर्देशक डा.लेखनाथ पौडेलले यो वर्ष १ र ११ कक्षाका पाठ्यक्रम परीक्षण लागू गरी बिसं २०७७ देखि देशैभर नयाँ पाठ्यक्रम लागु गर्ने जानकारी दिनुभयो ।

उहाका अनुसार कक्षा १ मा नेपाली, अ्रग्रेजी, , गणित, विज्ञान , सामाजिक र स्वास्थ्य , शारिरिक लगायतका विषय लागू गरिनेछ ।

सय विद्यालय छनोट, पाठ्यक्रम तयारी अन्तिम चरणमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले नयाँ पाठ्यक्रमको प्रारुप तयार गरेपछि यो प्रक्रिया अघि बढाइएको हो । धेरै पाठ्यपुस्तकको बोझ थप्नु भन्दा विद्यार्थीलाई सजिलो हुने गरी एकिकृत पाठ्यक्रम तयार गर्न लागेको बताइन्छ ।
सरकारले नमुना परीक्षणको लागि हालसम्म विद्यालय छनौट गरेको छैन । केही दिनमा विद्यालय छनौट गरिने केन्द्रले जनाएको छ । महानिर्देशक डा. पौडेलले भन्नुभयो–अहिले विद्यालय छनौटको प्रकृयामा रहेका छौ, कक्षा १ र ११ को लागि एकैपटक विद्यालय छनौट गर्नेछौ ।

सरकारले समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारुप कार्यान्वयन गर्ने घोषणा गरेसंगै केन्द्रले नया पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो ।

कक्षा ११ मा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने छ । केन्द्रका अनुसार विज्ञ समुहले तयार पारेको पाठ्यक्रम छलफलको क्रममा रहेको छ । कक्षा ११ को आधा दर्जन पाठ्यपुस्तक लेख्ने क्रममा रहेको केन्द्रको भनाइ छ ।

महानिर्देशक डा.पौडेलले अबको दुई महिनाभित्र पाठ्यपुस्तक तयार भैसक्ने र छलफल गरी लागु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । सरकारले व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिएर नयाँ प्रारुप तयार गरेको छ । दिइएको सो प्रारुप शिक्षा, पाठ्यक्रम तयार गर्न विज्ञको सूची (रोष्टर) तयार गरी लेखनको काम शुरु गरिसकेको छ ।

संविधानबमोजिम विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहमा दिइए पनि पाठ्यक्रम र परीक्षा केन्द्र सरकारकै मातहतमा राखिएको छ । मन्त्रालयले विसं २०६३ मा लागू गरेको विद्यालय शिक्षाको प्रारुप यसअघि २०७१ मा परिवर्तन भएको थियो । नयाँ प्रारुपको व्यवस्थाअनुसार कक्षा ११ र १२ लाई एकल पथीय बनाउँदै कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा पेशा व्यावसायिक ऐच्छिक विषय रहने छ ।