चेक बाउन्समा ठगिने हजारौं, प्रहरीसमक्ष पुग्दैनन् पीडित

0
Shares

हेटौंडा,(नेस)÷हेटौंडाका बैंकहरुमा ठँलोे रकमको चेक बाउन्स भयो भन्दै गुनासो आउने गरेको छ । तर, यस्ता घटना समाधान गर्न प्रहरीसम्म जाने पीडित भने निकै न्यून रहेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा बैंक कसुरको मुद्दा एकदम कम उजुरी पर्ने गरेको देखिएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा चेक बाउन्सको एकमात्र मुद्दा परेको थियो भने चालु आर्थिक वर्षको हालसम्म एउटामात्र मुद्दा परेको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष असोजमा टुरिजम डेभलपमेन्ट बैंकबाट एक रोड ३० लाख ५० हजारको चेक बाउन्स भएको थियो । हेटौंडाकै रामबाबु चौधरीले हेटौंडाकै एक व्यक्तिकोे घर किनेको रकम चेकमार्फत् भुक्तानी दिएका थिए ।
साउन २४ गते एनआईसी एसिया बैंकको १५ लाखको चेक बाउन्स भयो । हेटौंडाकै इन्द्रमणि भण्डारीले चेक काटी ठगी गरेको प्रहरीले जनाएको छ । केही दिन अघिमात्र सानिमा बैंकको आठ लाखको चेक बाउन्स भएको भन्दै मकवानपुरको बकैया गाउँपालिकाका रामचन्द्र भुजेल (नाम परिवर्तन) ले आफँ ठगिएको भन्दै प्रहरीमा निबेदन हाल्नुभयो ।

तर, निबेदनको प्रक्रियाले मात्र नपुगी जाहेरी दिनुपर्ने प्रहरीले बताएपछि उहाँ मुद्दा नहाली फर्किनुभयो । उहाँले भन्नुभयो–झन्झट हुने भएकोले उक्त घटनालाई दुई पक्ष मिलेर समाधान गरें ।

चेक बाउन्सको मुद्दा आए प्रहरीको विशेष टोली खटिनुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । प्रनाउ सिंहले भन्नुभयो–हप्तामा चारदेखि पाँच वटासम्म बैंक कसुरको उजुरी गर्न पीडित आउँछन् । तर, यस अपराध मुद्दामा नै जाने भएका कारण पीडित मुद्दा नहाली फर्कन्छन् ।

प्रनाउ सिंहका अनुसार पीडित पक्ष नै मुद्दा मामिलाबाट पर सर्ने र व्यक्तिगत प्रक्रियाबाट अघि बढ्ने भएकाले पनि तथ्यांकमा मुद्धा÷जाहेरी कम देखिएको हो । ‘अपराध त भइरहेकै छ तर, प्रहरीसमक्ष आउन झन्झट मान्ने गरेका छन्,’ प्रनाउ सिंहले भन्नुभयो । पहिला कुरा मिलेसम्म चर्को ब्याजमा पैसा लिने र अन्य लेनदेन गर्ने, कुरा नमिलेपछि चेक मागेर बाउन्स गराउने अनि प्रहरीमा आउने प्रवृत्ति पनि रहेको प्रहरीको भनाइ छ ।

सानिमा बैंक हेटौंडा शाखाका ऋण प्रमुख प्रकाश अधिकारीका अनुसार दैनिक पाँचदेखि सात वटासम्म चेक बाउन्स हुँदै आएको छ । उहाँले भन्नुभयो–बैंकमा चेक बाउन्सका गुनासो आइरहन्छन् । तर, प्रहरीमार्फत् जाने हिम्मत भने कसैले गर्दैनन् । प्रहरीसम्म पुग्नुभन्दा व्यक्तिगत तर्फबाट नै पीडितले समस्या समाधान गर्ने गरेको अधिकारीले बताउनुभयो ।

भुक्तानीका निम्ति दिइएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । खातावालाले कसैलाई चेकमार्फत् भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभए वा चेकमा हस्ताक्षर नमिले चेक बाउन्स हुनेगर्छ । पटक÷पटक एउटै चेक बाउन्स भए त्यसलाई बैंकिङ कसुरका रुपमा लिइन्छ ।

एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै बैंकमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुनसक्छ । अर्बौं रुपियाँभन्दा बढी रकमको चेक बाउन्स भएपछि नेपाल राष्ट्र बैंकले समय÷समयमा यस सम्बन्धमा निर्देशन जारी गर्दै आएको छ ।