गिटी कुटेरै छाक टार्न बाध्य

0
Shares

धनवीर दाहाल, रुकुम
त्रिबेणी गाँउपालिका ३ डाँडाकमद रुकुम पश्चिमकी ३८ बर्षिया वीना बादीले १४ बर्षदेखी गिठ्ठी कुटिरहेकी छन् । चार सन्तानकी आमा भइसकेकी वीना दिनभर गिठ्ठी कुटेर साँझ बिहानको छाकको जोहो गर्छिन् । बिनाका श्रीमान गंगाराम बादी अर्की श्रीमति लिएर भारत गएका छन् ।

भारत गएको भनिएपनि कुन ठाँउ छन् भन्ने पत्तो समेत उनलाई छैन । उनी आफ्ना छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्छीन् ।

छोराछोरीको पढाईको त कुरै छाडौं कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ । आमासँगै दिनभर गिठ्ठी कुट्ने प्रमिला बादीको यति बेला पढ्ने उमेर हो । १३ बर्षकी प्रमिलालाई पढ्नलाई रहर हुँदा हुँदै पनि दिनभर गिठ्ठी कुट्नु पर्ने बाध्यता छ । चार सन्तान मध्य १९ बर्षका छोरा केसी बादी र १७ बर्षिया छोरी सिता बादी पनि अर्कैको ज्याला मजदुरी गरिरहेका छन् । १५ बर्षका छोरा बिशाल र १३ बर्षिया छोरी प्रमिला भने आमासँगै गिठ्ठी कुट्न बाध्य छन् । अरु कुनै उपाए नभएकोले यसरी पेट पाल्नु परेको पिडा बिना सुनाउँछिन् । उनले भनिन् “मैले १४ बर्षदेखी यहि पेशा अंगालीरहेकी छु । बच्चालाई खुवाउन पनि यो काम गर्नै पर्यो ।”

दिनभरको कामले कहिले काँही एक छाक पनि टार्न धौ धौ भएको उनले सुनाइन् । बिना भन्छिन् “छोराछोरीको पढ्ने चाहाना त थियो । सानै देखी सबै पढ्छन् हामीलाई स्कुल पठाउनुस भनिरहेका थिए तर अभिभावक भनिएका श्रीमान अर्कै लिएर भागेपछि मैले कसरी पढाउन सक्थेँर मुस्कीलले खान पुर्याएकी छु ।” कहिले काँही बिरामी पर्दा उपचार गर्न पनि समस्या हुने उनले सुनाइन् । बिहानै उठेर ठुला दाजु बहिनी ज्याला मजदुरी गर्न निस्कन्छन् ।

साना दाजु बहिनी आमासँगै सडकमा गिठ्ठी कुट्न जान्छन् । दिनभरी काम गरेर पनि सुखसँग ज्याला पाउन नसकेको गुनासो उनले पोखिन् । अव पढ्ने लेख्ने भन्दा पनि कसरी शरिर पाल्नेतिर छोरा छोरीको ध्यान गएको बिनाले बताइन् । त्रिबेणी गाँउपालिकाको सिम्रुतु बजारदेखी खारा जोड्ने ग्रामिण सडकखण्ड विस्तार भएसंगै गाउँका धेरैजसो दलित समुदायका महिलाहरु गिट्टी कुट्ने पेशामा आवद्ध भएका छन् ।

राप्ती लोकमार्गले छोएको यस गाउँपालिकाको अधिकांश खोला किनार तथा विभिन्न ठाउँमा यसक्षेत्रका महिलाले कुटेको गिट्टी झूल्नेटा, सिम्रुतु, जिबाङ्ग तथा खुम्चेरी लगायत ठाउँमा बिक्रि हुने गरेको छ । गिट्टीको मूल्य प्रति ट्याक्टर ५ हजार तथा प्रति कठ्ठा ७० रुपैयाँको दरले बिक्रि हुने गरेको स्थानीय मनकली परियारको भनाई छ ।

छाक टार्नका लागी बल्ल तल्ल पाएको गिठ्ठी कुट्ने पेशाको पनि उचित मुल्य हुनुपर्ने माग गरिएको छ । पछिल्लो समय गाउँमा गिट्टीको माग बढेपछि गाउँ नजिकैको थारेखोला किनारमा गिट्टी कुटेर दैनिक घरव्यवहार चलाउन यहाँका महिला अग्रसर बनेका हुन् । सिम्रुतु बजारदेखी खारा जोड्ने ग्रामिण सडकखण्ड विस्तार भएसंगै गाउँका धेरैजसो दलित समुदायका महिलाहरु गिट्टी कुट्ने पेशामा आवद्ध भएका छन् ।

आर्थिक अवस्था कमजोर भएका दलित परिवारका महिलाले गिट्टी कुटेर त्यसबाट आएको रकमले सामान्य घरखर्च टार्न मात्र सहयोग पुगेको बताउने गरेका छन् । तर आफुहरुले कुटेको गिट्टीले गाउँघरमा सोचेजस्तो मूल्य नपाउँदा यहाँका महिलाहरु भने चिन्तित् बनेका छन् ।