खसी चोरेर भागेकाहरु समातिए

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
गएको सोमबार राति करिब १ बजे मकवानपुरको मनहरि गापा ९, खरंगास्थित कुमार तामाङको घरनजिक रहेको खोरबाट २ वटा खसी, राति साढे २ बजे दामीटारका सुन्दरलाल श्रेष्ठको खोरबाट २ वटा खसी र एउटा पाठी र २ बजे रामकुमार थापाको घरपछाडिको खोरबाट २ वटा खसी चोरी भयो ।

यसबारे पीडितले प्रहरीमा खबर गरे । अनुसन्धान गर्दै जाँदा हेटौंडा १० स्थित खसी बजारमा बिक्री गरी चोरहरु बा. १५ च ७६८८ नम्बर बोलेरो गाडीमा चितवनतर्फ भागेको जानकारी प्रहरीले पायो । सूचनाका आधारमा उक्त बोलेरो खोजी गर्दै जाँदा मकवानपुरको मनहरि गापा ७ स्थित मनहरि चेकपोष्टमा फेला पारियो ।

गाडीचालक रामेछापको गुन्छी गापा ८ बस्ने वर्ष २२ का बिपिन चौलागार्इं र गाडीका यात्रु रामेछापकै चौरी गापा ९ बस्ने वर्ष २३ का रामशरण गौतमलाई प्रहरीले पक्राउ गरी सोधपुछ शुरु गरेपछि चोरीको रहस्य खुल्यो ।
शरीर खानतलासी गर्दा गौतमले लगाएको पाइन्टकोे खल्तीबाट ४१ हजार र ट्रयाकभित्र लगाएको सर्टको खल्तीबाट ३० हजार बरामद भयो । उनीहरुकै सूचनाका आधारमा हेटौंडाको खसी बजारबाट ५ वटा खसी र एउटा पाठी फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बोलेरो, नगद ७१ हजार रुपियाँ तथा खसी र पाठीसहित जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याएर चोरी मुद्धामा आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि मकवानपुरको मनहरि गाउँपालिकामा चोरी भएको भैैंसी पर्सा जिल्लाबाट प्रहरीको सहयोगमा फिर्ता ल्याइएको थियो ।