चिरञ्जीवी मास्के, दोलखा ।
सदरमुकाम चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल)ले ग्रामीण भेगका विपन्न विरामीरुलाई मध्यनजर गर्दै सेवा सुविधाहरु थप गर्दै गएको छ ।
अस्पतालमा ब्लड कल्चरको सुविधा नभएको कारण उपचारको लागि आउने १० प्रतिशत भन्दा बढी विरामीलाई काठमाडौँ रिफर गर्नुपर्ने भएपछि अहिले अस्पतालले माईक्रो वायोलोजि सेवा थप गरेर बिभिन्न रोगको लागि ब्लड कल्चरको सुविधा समेत दिन थालेको अस्पतालका मेडिकल डाईरेक्टर डा विनोद दंगालले बताए ।
अस्पतालमा माईक्रो वायोलोजि सेवा थप भएपछि ब्लड कल्चर, पिसाब कल्चर र खकार कल्चरको सुविधा अस्पतामै सुरु भएको प्रस्तावित चरिकोट अस्पतालका ल्याब इन्चार्ज लक्ष्मण रेग्मीले बताए । प्रयोगशालामा कल्चरको सुविधा भएपछि मानिसको शरिरमा हानि गर्ने बिभिन्न किसिमको किटाणुलाई कृतिम रुपमा विकास गरी त्यसलाई मार्नको लागि कुन औषधि आवश्यक हुन्छ भन्ने परिक्षण गर्ने प्रकृया हो ।
मानिसमा देखिने जरो, खोकि जस्ता समस्या लामो समयसम्म रहिरहेको अवस्थामा कुन किटाणुको कारणले समस्या भएको हो र त्यसको लागि कुन औषधि चलाउनु पर्छ भन्ने हेर्नको लागि ब्लड कल्चर आवश्यक हुने डा विनोद दंगाल बताउछन् । विगतमा माईक्रो वायोलोजि सेवा नभएकोले ब्लड कल्चर हुन नसक्दा कतिपय विपन्न विरामीलाई समेत उपचार सेवा दिन नसकिएको अवस्थामा अब त्यस्तो समस्या नरहने डा दंगाल बताउछन् ।
प्रस्तावित चरिकोट अस्पतालमा रहेको प्रयोगशालामा दैनिक एक सय भन्दा बढी विरामीको कोलेस्ट्रोल, सुगर, कलेजो, मिर्गौला, टिवि, एचविए १ सि लगाएतका परिक्षण हुदै आएको छ । ग्रामीण भेगका विपन्न विरामीहरुलाई नै मध्यनजर गर्दै अस्पतालले चाँडैनै आईसियु सेवा समेत सुरु गर्न लागेको अस्पतालका मेडिकल डाईरेक्टर डा दंगालले बताए ।
सदरमुकाम चरिकोटमै रहेको नीजि अस्पताल च्छो रोल्पा जनरल अस्पतालले पनि विगत लामो समय देखि सुलभ शुल्कमा माईक्रो वायोलोजि सेवा अन्र्तगतको ब्लड कल्चर सेवा सञ्चालन गर्दै आएको अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठले बताए ।
दोलखामा रहेको सरकारी तथा नीजि अस्पतालहरुले सकेसम्म अधिक सेवा सुविधा प्रदान गरेर विरामीहरुलाई महंगो शुल्क तिरेर उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिनु पर्ने अध्यक्ष श्रेष्ठ बताउछन् ।











प्रतिक्रिया