विराटनगरबाटै माउण्टेन फ्लाईट हुने, हिमाल हेर्न ९ हजार ९ सय तिरे पुग्ने

0
Shares

सरोज यादव, विराटनगर ।
अब विराटनगरबाटै माउण्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ले यही शनिबारदेखि नियमित माउण्टेन फ्लाइट गराउन लागेको हो । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन सकिने देखेका पूर्वका ब्यवसायीले यती एयरलाईन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीहरूले आफ्नै पहलमा माउण्टेन फ्लाइट उडाउन लागेका हुन् ।

उनीहरूले यसअघि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । तर दुवै सरकारले त्यसलाई अघि बढाउन समय लगाउने संकेत पाएपछि आफ्नै पहलमा माउण्टेन फ्लाइटको तयारी थालिएको विराटनगरका पर्यटन ब्यवसायी भविशकुमार श्रेष्ठले जानकारी दिए । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी उडानलाई पहिलो चरणमा पर्यटन व्यवसायीहरुको पहलमा माउन्टेन फ्लाईटको उडानको तयारीको बारेमा जानकारी दिइएको छ ।

विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउण्टेन फ्लाइट गराइएको थियो । तर अब भने नियमित हरेक हप्ता माउण्टेन फ्लाईट गराउन लागिएको हो । शनिवारदेखि यती एयरलाईन्सबाट हरेक शनिवार हप्तामा एउटा फ्लाईट गर्ने तयारी भएको श्रेष्ठले बताए । विराट हालिडेजको नाममा १० जना ब्यवसायीले विराटनगरबाट माउण्टेन फ्लाईटको तयारी थालेका हुन् । पहिलो चरणमा एक नम्बर प्रदेशका नागरिकलाई लक्षित गरिएको छ । त्यस्तै बोर्डर आसपास भारतको बिहार, बंगाल र सिक्कीमका पर्यटक लक्षित गरि उडान गर्न लागिएको श्रेष्ठले जानकारी दिए । प्रदेश सरकार, मुख्यमन्त्रीको नारा नै माउण्टेन फ्लाईट थियो, त्यही नारालाई हामीले होस्टेमा हैसे गरेका हौ, श्रेष्ठले भने ।

यसले भारतीय पर्यटकको बसाई लम्व्याउन सकिने ब्यवसायीको भनाई छ । अहिले चार्टरको रुपमा हप्तामा एउटा गर्ने तयारी छ भने बिस्तारै नियमित गराउने तयारी रहेको छ । माउण्टेन फ्लाईट संचालनको लागि विराटनगरमा रहेका सबै ट्राभल एजेन्सीहरुको भूमिका रहेको छ । प्रति ब्यक्ति ९ हजार ९ सयमा ५५ मिनेटको माउण्टेनको आनन्द लिन सकिने गरी तयारी थालिएको हो ।

एउटा माउण्टेन फ्लाईटमा १९ जनालाई उडाईने र कन्जनजंघा, मकालु र सगरमाथाको दृश्य हेर्न सकिने छ । प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन्।जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाईट हुनसक्ने व्यवसायीहरुको अनुमान छ । काठमाण्डौं–लुक्काका लागि अहिले दैनिक ५० उडान हुने गरेपनि अझै अभाव देखिदैं आएको व्यवसायीहरु बताउँछन् । विराटनगरका अगुवा पर्यटन व्यवसायी तथा नेपाल उद्योग बाणिज्य संघ महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा ‘विराट होलिडेज’ बनाइएको थियो । त्यसमा अन्य होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एशोसिएशन सम्वद्ध पदाधिकारीहरू सदस्य रहेका छन् । यी सबै ब्यवसायीको संयुक्त पहलमा उडानको तयारी गरिएको हो ।

व्यवसायीहरूले लहान, विराटनगर, इटहरी, दमक, विर्तामोड लगायतका आन्तरिक प्रमुख बजार र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी माउण्टेन फ्लाइटको तयारी गरेका हुन् । सम्वद्ध एयरलाइन्सले समेत सकारात्मक रूपमा लिएका कारण आफूहरू उत्साहित भएर लागेको व्यवसायी श्रेष्ठले बताए । माउण्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै बसन्तपुरसम्मको प्याकेज बनाउने तयारी पनि भारतीय पर्यटकलाई लक्षित गरि थालिएको छ । श्रेष्ठले भने, ‘माउण्टेन फ्लाइटलाई निरन्तरता दिन सकिए प्रदेश १ को पर्यटन व्यवसाय माथि उचालिन सक्छ ।’

नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले माउण्टेन फ्लाइटका लागि विमानस्थलमा कुनै समस्या नभएको जानकारी दिए । तर उड्ने रूट र उडानको समय तालिकाका लागि अनुमति लिनुपर्ने प्राविधिक तथा कानुनी प्रक्रिया रहेको उनले बताए ।