डोटीको भूमिराजमाण्डौमा शिशु स्याहार केन्द्र स्थापना

0
Shares

विमल बिष्ट, डोटी ।
महिलाहरुको कार्यबोझमा कमी ल्याउने उद्धेश्यले डोटीको के.आई.सिंह गाउँपालिका–७ भूमिराजमाण्डौमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ ।

एक्शन एड नेपालको सहयोगमा सम विकास केन्द्र (ईडीसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र के.आई.सिंह गाउँपालिका वडा नंं. ७, को सहयोगमा शिशु स्याहार केन्द्र स्थापना गरिएको ईडिसिका कार्यक्रम संयोजक महेश परियारले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘३ वर्षदेखि ५ वर्ष मुनिका वालबालिकाहरुको स्याहार तथा उनिहरुको सिकाई ज्ञान अभिबृद्धि गर्न र ति वालबालिकाका आमाहरुको कार्यबोझमा कमि ल्याइ उनिहरुलाई उत्पादनमुलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको हो ।’

के.आई.सिंह गाउँपालिका वडा नंं. ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालयको जमीनमा ईडिसिको ६ लाख ३८ हजार १ सय ५५ र उक्त वडाको २ लाख गरी जम्मा ८ लाख ३८ हजार १ सय ५५ रुपैयाँ लगानीमा केन्द्रको २ कोठे भवन निर्माण गरि कक्षा सञ्चालन भइसकेको वडा नं. ७ का अध्यक्ष हर्कबहादुर बिष्टले जानकारी दिनु भयो ।

उक्त केन्द्रमा हाल ३० जना वालबालिकाहरु भर्ना भई कक्षा सञ्चालन भईसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताउनु भयो ।

सो वडाका कोटीगाउँ, बलायर गाउँ र थलीका दलित, विपन्न परिवारका बालबालिकाहरुलाई लक्षित गरी स्थापित केन्द्रको औपचारिक उद्घाटन बाँकी रहेको र उद्घाटनपश्चात सो भवन वडा कार्यालयमार्फत समुदायमा हस्तान्तरण गरिने र केन्द्र संचालनको जिम्मेवारी लाटाकलारै विधालयलाई दिइने जनाइएको छ ।

उक्त शिशु स्याहार केन्द्रमा सन् २०२० को अगष्टसम्म वालवालिकाहरुको बसाई, मनोरञ्जन, शैक्षिक वातावरण तथा खाजा व्यवस्थापन र दुईजना सहयोगी कार्यकर्ताको व्यवस्था ईडीसीले गर्नेछ ।

तत्पश्चात सम्बन्धीत वडा, समुदाय, विद्यालयको सहकार्यमा केन्द्र संचालन हुने जनाइएको छ । लाटाकलारै आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ ।

डोटीमा सबै कक्षामा अंग्रजी माध्यमबाट पढाई हुने लाटाकलारै एक मात्र सामुदायिक विद्यालय हो । यस विद्यालयमा कक्षा १ देखि नै कम्प्युटर शिक्षा पढाइ हुने गर्दछ ।