जितुको शो, ट्रेन्डिङको पहिलो नम्बरमा


काठमाडौं । हास्य कलाकार जितु नेपालको नयाँ शो ‘मुन्द्रेको कमेडी क्लब’लाई दर्शकहरुले मन पराएका छन् । सोमबार नेपाल टेलिभिजनमा प्रसारण भएको शो, त्यसलगत्तै युट्युबमा पनि सार्वजनिक भएको थियो । शोले युट्युबमा गज्जबको तारिफ पाईरहेको छ ।

आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो एपिसोडलाई यो समाचार तयार पार्दासम्म ३ लाख ८८ हजार भन्दा धेरैपटक हेरिसकिएको छ । भिडियो नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा समेत आएको छ ।

१७ सय भन्दा धेरै कमेन्टहरु आएको पहिलो एपिसोडको भिडियोमा ९ हजार ४ सय भन्दा धेरै लाइक छ । यद्यपि भिडियोलाई ७ सय ४० डिसलाइक पनि प्राप्त गरेको छ । भिडियोमा आएको अधिकांश प्रतिक्रियाहरु सकारात्मक र उर्जा दिने किसिमका छन् ।

जितु नेपालको शो मा अध्यक्षको भुमिकामा भने सफल निर्मात्री एवं हास्य कलाकार दीपाश्री निरौला रहेकी छिन् । कार्यक्रमको पहिलो एपिसोडमा हास्य कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीलाई निम्त्याईएको थियो । कार्यक्रममा हास्य रस मिसाउनको लागि जितु र दीपालई राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेर राईले पनि बेजोडले साथ दिएका छन् ।

रबि श्रेष्ठको निर्देशनमा तयार भएको कार्यक्रममा कार्यकारी निर्देशकको रुपमा माधव कार्की रहेका छन् । यस्तै श्रृंखला निर्देशकको जिम्मेवारी कलाकार निरज नेपाललाई दिइएको छ । शो कार्यकारी निर्माता रबिन्द्र कुमार रिजाल (शशी) हुन् ।