सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?


काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् । राजधानीमा आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले सो कुरा बताएकी हुन् ।

सञ्चारकर्मीहरूको देउसी भैलो टोलीसँग बोल्दै उनले भनिन्,‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन । सल्लाह लिएको भए राम्रो हुनेथियो । सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’

पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताउँदै सभापतिले त्यस्तो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने,‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नुभएन । अब सिँगो पार्टीको सभापति बन्नुपर्यो ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले सभापति देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाइन् ।

उनले भनिन्,‘पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्छ । अनुशासनमा चलाउनुपर्यो ।’