वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधन


काठमाडाैं ।

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्नागरिएका श्रेष्ठको आज बिहान ५ः३५ बजे ८३ वर्षको उमेरमा निधन भएको हो ।

तनहुँ बन्दीपुरमा जन्मिएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गरेका थिए भने उनी सर्वोच्च अदालत बारको पहिलो अध्यक्षसमेत हुन् । श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष रहेका समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए ।

कानूनसम्बन्धी धेरै कृति र लेख प्रकाशन गरेका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिनुभएका बिपी कोइरालालगायत नेताको पक्षमा कानूनी बहस पैरवी गरेका थिए । नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्यादित कानून व्यवसायीका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

श्रेष्ठको पार्थिव शरीर भोलि श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने छ भने साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । दिवंगत श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी छन् ।