वडाअध्यक्ष बाटै शिक्षक कुटिए


सलिम अन्सारी, प्यूठान । प्युठानमा वडाअध्यक्षबाटै शिक्षक कुटिएका छन। जिल्लाको झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले शिक्षकमाथि कुर्सी प्रहार गरेर घाइते बनाएका छन् ।

 

वडाअध्यक्ष बस्नेतको कुर्सी प्रहारबाट स्थानिय जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसी घाईते भएका छ्न। एमसीको टाउकोमा पाँचवटा टाका लगाइएको छ । मंगलबार विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको वैठकमा सामान्य भनसुन भइरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीको आरोप छ । उनले जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् ।एमसीलाई डाक्टरले एक सातासम्म आराम गर्न सुझाव दिएका छन् ।

 

यसअघि पनि अध्यक्षले आफूलाई समय–समयमा गालीगलौज गर्ने गरेको शिक्षक एमसीले बताएका छन् । विगत चारवर्षदेखि प्रावि तहको दरबन्दीमा जनता माविमा पढाइरहेका एमसीले कक्षा ९ र १० मा पनि गणित विषय पढाउँदै आएका छन् । वडाअध्यक्ष बस्नेत यसअघि विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष थिए । गाउँपालिका अध्यक्ष तिलक जिसीले घटनाको विषयमा आफूलाई बुधवार बिहानमात्र जानकारी भएको प्रक्रिया दिए । उनले घटनाको विषयमा दुवै पक्षसँग छलफल गरेर समाधान खोजिने बताए ।

 

वडाअध्यक्षसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन् ।वडाअध्यक्ष बस्नेत स्थानीय निर्वाचनमा तत्कालिम नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका हुन् ।