खुमबहादुर खड्काको अंगरक्षक हत्या भएको १२ वर्ष सम्म पनि दोशी पत्ता लागेनन्


काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन नेता खुमबहादुर खड्काको अंगरक्षक (पिएसओ)को हत्यारा १२ वर्ष भइसक्दा पनि पत्ता लाग्न सकेको छैन । नेपाल प्रहरीका तत्कालीन सई कुवेर कार्कीको हत्या भएको १२ वर्ष भइसकेको छ । तर, यो घटनाको अनुसन्धान पनि शून्यमै छ ।

०६३ साल मंसिर २१ गते सई कार्कीको काठमाडौंको गोठाटारस्थित निवासमा खुकुरीले हानेर हत्या भएको थियो ।

सुतिरहेका कार्कीलाई मध्यराति बरण्डामा बोलाएर आक्रमण गरिएको थियो । कार्की त्यतिवेला कांग्रेस नेता खड्काको पिएसओका रूपमा कार्यरत थिए ।

घटनाअघि उनी श्रीमतीसँगै सुतेका थिए । तर, श्रीमतीले भने आफू मस्त निद्रामा भएका कारण घटनाबारे थाहा नपाएको बताएकी थिइन् ।

कार्की हत्याको अनुसन्धानमा परिवारबाटै पनि पर्याप्त सहयोग नमिलेको प्रहरी अधिकारीहरू बताउँछन् ।