मुख्यमन्त्री पौडेललाई तिहार मनाउन चाँही दिन्छु- स्थापित


गंगा बराल, काठमाडौं । पूर्वमन्त्री केशव स्थापितले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई तिहारको मुखमा कुनै किसिमको तनाब नदिने बताउनुभएको छ ।

केही दिनअघिमात्र भौतिक पूर्वाधार तथा बिकासमन्त्रीबाट हटाइएका स्थापितले मुख्यमन्त्रीलाई तिहारअघि कुनै पनि षड्यन्त्र नगर्ने र त्यसपछि भने योजनावद्ध ढंगले नै अघि बढ्ने बताउनुभयो ।

रिपोर्टर्स क्लव नेपालद्धारा मंगलबार आयोजित साक्षात्कारमा पूर्वमन्त्री स्थापितले आफूलाई मन्त्रीबाट हटाउनुपर्ने कुनै कारण नभएको भएपनि मुख्यमन्त्रीले विभिन्न आरोप लगाएकोमा गुनासो गर्नुभयो । ‘मैले जनताको मन छुने गरी बिकासका काम गरेको थिँए, उहाँलाई चित्त नबुझेको हुन सक्छ, रसुवाबाहेक अरु १३ वटै जिल्ला घुमेर त्यसलाई कसरी बिकास गर्न सकिन्छ भन्ने योजना बनाएको थिँए’ स्थापितले भन्नुभयो ‘ अचम्मको कुरा के छ भने, मलाई किन कार्यालयमा बसिनस् र जिल्लामात्र घुमिस् भनेर पनि गाली गर्नुभयो, यस्तो पनि काँही हुन्छ ?’

पूर्वमन्त्री स्थापितले मुख्यमन्त्रीको हैसियत मुख्यमन्त्री हुने गरी हैसियत नभएको र सांसद् अष्ठलक्ष्मी शााक्य मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की भएपछि भौतिक पूर्वाधार तथा बिकास मन्त्री बन्नका लागि पछिपछि दौडेको समेत उहाँले बताउनुभयो । ‘पौडेलले ३४ मत ल्याउनुभयो, हार्नेले २४ मत, यो कुरा ठूलो होइन, भोलि तलमाथि भइहाल्छ, हेर्दै जानुहोला’ स्थापितले भन्नुभयो ‘ मेरो पर्फरमेन्स जीरो भन्नुभयो, मलाई चित्त बुझेन र प्रतिबाद गरेँ, उहाँको त माइनस नै भएको छ, उहाँमा दम्भ छ , उपत्यकालाई पाखा लगाएर ३ नम्बर प्रदेश अघि बढ्न सक्दैन ।’

काठमाडौं महानगरपालिकाका पूर्व प्रमुखसमेत रहनुभएका स्थापितले आफूँसँग भएको भिजनलाई पत्याएर नै केपी शर्मा ओलीले मन्त्री बनाएको स्मरण गर्नुभयो । ओलीको भनाई उद्घृत गर्दै उहाँले भन्नुभयो ‘ उहाँ (ओली) ले भन्नुभएको थियो कि तिम्रो भिजन १ प्रतिशत प्रयोग हुँदा पनि पुग्छ ।’ उहाँले संसद् बैठक चलेपछि पछिल्लो समयमा उब्जेका सबै प्रश्नको जवाफ मुख्यमन्त्रीसँग मागिने र नयाँ राजनीतिक समीकरण हुनेसमेत दावी गर्नुभयो । आफूलाई मन्त्रीबाट हटाइएकामा कुनै गुनासो नभएको भन्दै पक्कै पनि राम्रो अवसर आउनलाई नै यस्तो भएको हुन सक्ने बताउनुभयो । स्थापितले मेयरको टिकट नपाएपछि प्रदेश सांसद्को टिकट पाएर तिजेपछि मन्त्री भएको र खुस्किएपछि पनि झन् अर्को राम्रो अवसर आउन सक्ने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले मुख्यमन्त्री पौडेल द एसिया फाउण्डेसनको पैसामा कार्यक्रम सञ्चालन गर्दै हिँडेको समेत आरोप लगाउनुभयो । ‘मन्त्रीपरिषद्मा कुनै छलफल नै नगरी उहाँ जे मन लाग्यो त्यही गर्नुहुन्छ, अहिले मेरोविरुद्ध अन्तरवार्ता दिँदै हिँड्न रमाइलो मान्दै आउनुभएको छ ’ उहाँले भन्नुभयो ‘ फाउण्डेसनले सबै कुरा पु¥याइदिएको छ, भैंसेपार्टीमा नै पौडेल आराम गर्नुहुन्छ र अन्य रसपान पनि गर्नुहुन्छ, यस्तो गर्न सुहाउँदैन ।’

मुख्यमन्त्री पौडेलले राजधानी हेटौंडा नै बनाउँछु भनेर दिएको अभिव्यक्ति संविधानविपरीत भएकोमा उहाँले आलोचना गर्नुभएको छ । ‘उहाँले बनाउँछु भन्दैमा हुन्छ र ,यो त संसद्को अधिकारको कुरा हो ’ उहाँले भन्नुभयो ‘१० वर्षसम्म हेटौंडाको प्रमुख हुँदा शहिद पार्कबाहेक केही बनाउनुभएनछ, जे भएपनि मैले त काठमाडौं बनाएँ ।’ उहाँले पौडेलले श्रीपेचमात्र लाउन बाँकी रहेको र व्यवहार त्योभन्दा बढी चर्को भइसकेको पनि आरोप लगाउनुभयो ।

स्थापितले राजनीतिमा आफू कहिल्यै कोहीसँग पनि नझुकेको दाबी पनि गर्नुभयो । ‘मैले तत्कालीन राजा ज्ञानेन्द्रलाई भेट्दा पनि राजतन्त्रको हैसियत सकियो भनिदिएको हुँ, अहिले सत्य बोल्न डर छैन’ उहाँले भन्नुभयो ‘ मैले राजासँग हात मिलाउन खोजेँ तर मान्नुभएन, राजसंस्थाको बारेमा बोल्न भन्दा मानिन बढी कर गरेपछि अब सम्भव छैन, भारत र चीनले पनि पत्याउन छोडिसके भनिदिँए, अन्तिममा त्यस्तै भयो, अब अहिले कसैसँग झुक्नुपर्छ भन्ने छैन, हिजो यता र उता गयो पार्टी फे¥यो भन्नुको पनि सान्दर्भिकता छैन ।’