काग सम्मेलनमा दुई सयभन्दा बढी काग


काठमाडौं । तिहारको पहिलो दिन आज काग तिहार मनाइएको छ । यसका साथै मुखबाट कागको आवाज निकाल्न सक्ने कागे बाहुनको नामबाट परिचित रमेश दुलालले राजधानीको रत्नपार्कमा १५औँ काग सम्मेलन गरेका छन् ।

१५ बर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसबर्ष पनि कागलाई बोलाएर काग तिहार मनाएका हुन् । बिहान ६ः३० मा भएको कार्यक्रममा दुईसय बढी कागलाई दुलालले बोलाएका थिए ।


उनका अनुसार कागको भाषा बोलेर कागलाई आफुतिर बोलाउनु पर्छ । ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ । कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । संगीतकर्मी संघको आयोजनामा भएको काग सम्मेलनमा संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले पनि काग तिहारको शुभकामनासहित दुलालको प्रसंशा गरे ।

यस्तै सामाजिक सरसफाई अभियान्ता ग्रिनसिटी हस्पिटलका निर्देशक एलबी टन्डनले पनि तिहारको शुभकामना सहित दुलालको फरक कलाको तारिफ गरे ।