दीपावली र छठले झ्यापै छोप्यो वीरगन्जलाई


कृष्णउदास खनाल, वीरगन्ज
नेपालीहरुको महान पर्व दीपावली र लगत्तै तराईवासीको महान पर्व छठ परेका कारण अहिले वीरगन्ज बजारमा चहलपहल बढेको छ ।
चाडवाड मुखैमा आएका कारण सामान खरिद बिक्री गर्नेहरुको भीड बढेको हो भने स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था पनि बलियो बनाएको हो । चाडवाडका समयमा हुन सक्ने अपराधीक घटनालाई नियन्त्रणमा लिन प्रहरीले बिशेष चलाखी अपनाएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए । यसरी नै पर्साको पोखरिया नगरपालिकामा साँझ ६ बजेपछि मदिरा किनबेच गर्न निषेध गरिने भएको छ । मदिराका कारण नगरमा असुरक्षा बढेको भन्दै बेलुकी ६ बजेपछि मदिरा किनबेचमा निषेध गर्न लागिएको हो ।

त्यसैगरी नगरको मुख्य बजार क्षेत्रमा राति १० बजेपछि हिँडडुल गर्नसमेत प्रतिबन्ध लगाइने तयारी छ । विशेष परिस्थितिमा बाहेक अन्य समयमा रातिमा हिडडुल गरेको खण्डमा प्रहरीले पक्राउ गर्न सक्ने गरी व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ ।शनिबार राति पोखरिया बजारमा चोरी हुनुको साथै बजारको रेखदेखका लागि खटाइएका चौकिदारसमेत कुटिएपछि नगरपालिकाले यस्तो निर्णय गर्न लागेको हो ।बजारको सुरक्षाका लागि पोखरिया बजार क्षेत्रमै प्रहरी बिट राख्ने र रात्री गस्ती गर्न लगाउने निर्णय समेत सर्वपक्षीय बैठकले गरेको छ ।जाडोयाममा साँझ ६ बजेदेखि र गर्मीयाममा ७ बजेदेखि मदिरा किनबेच गर्न नपाउने गरी निर्णय गर्ने तयारी भएको नगर प्रमुख दिप नारायण रौनियारले जानकारी दिए ।

यसपाली दिपावली लगत्तै छठ परेका कारण पनि वीरगन्ज बजारमा सर्वसाधारणहरुको चाप बढेको हो । अहिले वीरगन्जमा माटोका भाँडा, बिभिन्न बाँसबाट बनेका सामानहरुको खरिद बिक्री हुेनक्रम जारी रहेको छ भने बिभिन्न पसलहरुमा पनि ग्राहकहरुको भीड लागेको छ ।