हेटौंडा ल्याइयो मुख्यमन्त्रीको विद्युतीय जिप


नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले चढ्ने विद्युतीय जिप हेटौंडा ल्याइएको छ ।
प्रदेशमा पेट्रोलियम सवारीसाधनमा पूर्ण प्रतिवन्धको घोषणा गरेको प्रदेश–३ सरकारका मुख्यमन्त्रीले विद्युत्बाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप चढ्न हेटौंडा ल्याइएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी तथा ऊर्जामन्त्री वर्षमान पुनले विद्युतीय जीप चढिसक्नु भएको छ ।

प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती शहरमा पेट्रोलियम सवारीसाधनमा पूर्ण प्रतिवन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ ।

प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाउने अभियानअन्तर्गत् मुख्यमन्त्रीले अभियान थालनी गर्नुभएको हो ।

चीनमा उत्पादित बीवाईडी जीपको मूल्य ५५ लाख परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ ।

२ घण्टा चार्ज गर्दा जीप ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ । चिनियाँ कम्पनीका गाडीहरु नेपालमा सूर्या गुड्स सप्लायर्सले बिक्री गर्ने गरेको छ । गाडीहरुको नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवन राजपथका विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ ।

पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमा पनि सञ्चालन गरिनेछ ।

नेपालको वातावारणमा स्वच्छता कायम गर्ने एकमात्र उपाय विद्युतीय गाडी प्रवद्र्धन भएकोले सरकारले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डो¥याउने मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
विद्युतीय उत्पादन बृद्धि गरी विद्युतीय सवारी विस्तार गर्ने योजनामा प्रदेश सरकार रहेको उहाँको भनाइ छ । केही समयअगाडि काठमाडौंमा विद्युतीय बसको प्रधानमन्त्री केपी शर्माओलीले शुभारम्भ गर्नुभएको थियो ।