मोरङ जिल्ला अस्पतालमा ३ महिनादेखि औषधि अभाव


सरोज यादव, मोरङ
मोरङको रंगेली नगरपालिका स्थित जिल्ला अस्पताल रंगेलीमा औषधि अभाव देखिएको छ । डाक्टरको अभाव सँगसँगै तीन महिनादेखि अत्यावश्यक औषधि समेतको अभावहुँदा त्यस क्षेत्रका सेवाग्राही मारमा परेका छन । विराटनगर देखि करिब २२ किलोमिटर पूर्व रहेको जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचार गराउन आएका सेवाग्राही त्यसै फर्किने गरेका छन ।

नेपाल सरकारले सरकारी अस्पतालमा ७० प्रकारको औषधी निःशुल्क वितरण गर्ने जनाउँदै आएको भएपनि रंगेली अस्पतालमा तीन महिना देखि सिटामोल समेत उपलब्ध हुन नसकेको स्थानीयले बताएका छन । अस्पतालमा चिकित्सक नभेटिँदा हैरान भएका सर्बसाधारण औषधि नपाउँदा थप निराश भएर फर्किने गरेका छन ।

सो अस्पतालमा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिकाका लगायत भारतीय सिमा नजिक रहेको कारण त्यस क्षेत्रका समेत सर्बसाधारण उपचारको लागि दैनिक पुग्ने गर्दछन
जिल्ला अस्पतालमा उपलब्ध हुनु पर्ने सम्पूर्ण सेवा उपलब्ध गराउने गरी रंगेली अस्पतालमा ठुलै लगानी गरिएको छ । अस्पतालमा आईसीयु, एनआईसियु, समेतको सेवा दिने भन्दै जाडान गरिएको लामो समय हुँदा समेत उक्त सामान प्रयोगमा आउन सकेको छैन । दक्ष प्राबिधिक नभएको कारण ति सामान बेकामे बनेका छन । मेसु सहित ४५ जना को दरबन्दी रहेको अस्पतालमा अहिले २० जना मात्रै कार्यरत रहेका छन ।

अधिकारविहीन स्थानीय सरकार
स्थानीय सरकार संचालनमा आएसँगै आफ्नो क्षेत्र भित्र रहेको स्वास्थ्य संस्थाहरु स्थानीय सरकार माताहत गएका छन । तर यस बिषयमा रंगेली नगरपालिका मेयर दिलिप बगडियाले आफै अन्यौलमा रहेको बताए । मिडिया मार्फत सरकारी अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गरेको सुनेको भएपनि अहिलेसम्म कुनै पनि आधिकारीक परिपत्र नआएको उनले बताए ।

अस्पताल विकास समिति सक्रिय नहुदा समेत अस्पतालको अबस्था बिग्रिएको उनले सुनाए । आफुहरुलाई अधिकार नै नभए पछि अस्पतालमा गएर हस्तक्षेप गर्न नमिल्ने तर मेयरको हैसियत र नगरपालिका भित्र रहेको हुनाले आफुले ब्यक्तिगत रुपमा सहयोग गर्दै आएको सुनाए ।