पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा


काठमाडौं, (नेस)
पश्चिमी वायुको प्रभावले कर्णाली र सुदुरपश्चिमका उच्च पहाडी र हिमालीभेगमा हिमपातसँगै वर्षा भएको छ । विगतका वर्षभन्दा अगावै हिमपात र वर्षा भएपछि सो क्षेत्रको तापक्रम एक्कासी घट्दा जनजिवन प्रभावित बनेको छ ।

गत शुक्रवार भारतको जम्बु कास्मिर हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा गराएपछि मध्यपश्चिम र सुदुरपश्चिमी भेगमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘गत वर्ष भन्दा केही दिन अघि सो क्षेत्रमा चिसो बढेको छ’–महाशाखाका मौसमविद् समिर श्रेष्ठले भन्नुभयो । तर यस्तो प्रभाव पूर्वी तथा मध्यभेगमा नफैलिने र हिमपात प्रभावित जिल्लाको मौसममा पनि आइवार अपरान्ह्रदेखि सुधार आउन थालेको उहाँले जानकारी दिनुभयो ।

पश्चिमी वायुको प्रभावले पश्चिमी भेगमा चिसो बढेपनि काठमाडौं उपत्यकाको न्यूतम तापक्रम भने केही दिनयता स्थिर छ । गत कार्तिक १० गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षको सबै भन्दा कम ८ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण गत शनिवारयता दिपायल, डडेलधुरा, धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला र आसपासका भेगमा वर्षा भएको महाशाखाले जनाएको छ ।

आइतवार अपरान्ह्रसम्ममा सबैभन्दा बढी डडेलधुरामा २४ मिलिमिटर वर्षा भएको छ भने दिपायलमा ९ दशमलव २, धनगढीमा ६ दशमलव ५, विरेन्द्रनगरमा १ दशमलव ४ र नेपालगञ्जमा १ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ ।